वीरगन्ज २२ कार्तिक : धन्सार खोलामा निर्माण भएको झोलुङ्ग पुल सञ्चालनमा आएको छ । बारा, रौतहट र मकवानपुर जिल्लालाई जोड्न संगम स्थलको रूपमा रहेको बाराको निजगढ नगरपालिका वडा नं।३ मा रहेको पिपलटारस्थित झोलुङ्गे पुलको आज उद्घाटन गरिएको छ । एक सय २९ मिटर लम्बाई र चार फिट चौडाईको पुलको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र उपमेयर लिलादेवी लामिछाने खनालले रिबन काटेर उद्घाटन गरेका हुन् । पुलबाट बारा,रौतहट र मकवानपुरका नागरिकलाई आवतजावत गर्न सहज हुने छ । आदर्श जनसेवा युवा क्लव बिरगंजको समन्वयमा ट्रायल ब्रीज सपोर्ट युनिट हेल्भेटास र निजगढ नगरपालिकाको लगानीमा निर्माण सम्पन्न झोलुङ्गे पुल मार्फत निजगढको पर्यटकीय गतिविधि समेत वृद्धि हुने मेयर खनालले बताएका छन ।


उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका वडा नं। १ का अध्यक्ष मंगल लोप्चन, वडा नं। २ का अध्यक्ष केशव ढोडारी, लगायतको उपस्थिति रहेको थियो । स्थानीय विकास मन्त्रालयको झोलुङ्गे पुल शाखा, निजगढ नगरपालिका कार्यालय र उपभोक्ताको समन्वयमा सम्झौता अनुसार पुल निर्माण भएको हो । ७३ सालमा शिलान्यास भएको पुल स्वीस हेल्भटासको परियोजनाले तत्कालिन जिल्ला विकास समितिमार्फत निर्माण सुरु गरेको थियो । एक करोड ८ लाख लागतमा निर्माण भएको हो । पुल निर्माण भएपछि बारा, रौतहट र मकवानपुर जिल्लाका बासिन्दालाई लाभान्वित हुन्छन् ।
मकवानपुरको बकैया गाउँपालिका र रौतहटको चन्द्रपुरबाट बारामा पढ्न आउने विद्यार्थीहरूलाई पुल निर्माण भएपछि सहज हुने समितिका सचिव छिरिङ बलले बताएका छन । अहिले विद्यार्थी निर्माणाधिन पुलबाट जोखिम मोलेर आवतजावत गरिरहका छन् सचिव बलले भने पुल नहुँदा वर्षाको बेला खोला तर्नुपर्ने भएकाले पढाई प्रभावित हुने गरेको थियो । पुल निर्माण भएपछि विद्यार्थी नियमित पढ्न आउन थालेको निजगढ नगरपालिका वडा नं।३ पिपलटारस्थित हिमाल आधारभूत बिद्यालयका प्रधानाध्यापक हरिशरण खड्काले जानकारी दिनु भयो । पुल निर्माण भएपछि स्थानीयको व्यापार व्यवसायसमेत बढ्ने छ । मकवानपुर र रौतहट जिल्लाका बासिन्दा किनमल गर्न निजगढ आउँदा खोला तर्नुपर्ने समस्या हटेपछि व्यापार बढ्ने स्थानीयले बताएका छन् ।