काठमाण्डाै । ‘मोन्था’ चक्रवातका कारण पछिल्लो १२ घण्टामा मोरङको सुन्दरहरैँचामा सबैभन्दा धेरै २०६ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा पनि सबैभन्दा धेरै सुन्दरहरैंचामा २४० दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यो आज दिउँसो २ बजेसम्मको तथ्याङ्क हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई भारी वर्षाको सूचीमा राख्छ । त्यस्तै सप्तरीको बरमजियामा पछिल्लो १२ घण्टामा १२९ दशमलव ८ र पछिल्लो २४ घण्टामा १५६ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । झापाको अनारमणी विर्ता वर्षामापन केन्द्रमा पनि पछिल्लो १२ घण्टामा १२१ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
मोन्था चक्रवातको असर अहिले सुदूरपश्चिम र कर्णालीबाहेक सबै प्रदेशमा छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका सबैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पूर्वको कोशी र मधेशमा मोन्थाको प्रभाव तुलनात्म रूपमा धेरै परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । बदली र वर्षा भने अरू ठाउँमा पनि भइरहेको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
हिजोको तुलनामा आज पूर्वमा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
