वीरगञ्ज । दसैँको महाअष्टमीका दिन वीरगञ्जको गीता मन्दिर नजिकैको मेलामा भएको समूहगत झडपमा २० वर्षीय शिवम साह कानु उर्फ गोल्डेनको हत्या भएको घटनामा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतले शुक्रवार गरेको फैसला अनुसार तीन जनालाई वीरगञ्ज कारागार तथा एक किशोरलाई वीरगञ्जस्थित बाल सुधार गृह चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अदालतले ज्यान सम्बन्धी कसुरमा मुद्दामा वीरगञ्ज महानगरपालिका – २४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभ शङ्कर चौरसिया र २२ वर्षीय अमिरी पटेललाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गर्ने आदेश दिएको छ भने १७ वर्षीय किशोरलाई बाल सुधार गृह पठाउने फैसला गरेको छ ।
त्यस्तै घटनामा संलग्न चन्दन चौरसिया र अमन पटवाले अदालतले तोकेको दुई/दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने मन्टु पटेलले ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए ।
घटनाको पृष्ठभूमि
घटना असोज १४ गते राति दसैँको महाअष्टमीका दिन साढे एघार बजेतिर वीरगञ्ज महानगरपालिका – १० को गीता मन्दिर सडकछेउमा लागेको मेलामा दुई समूहबिच सामान्य विवादबाट सुरु भई चर्किएको थियो । विवाद चर्किएपछि ‘खुनी दरिन्दे’ नामक ह्वाट्सएप समूह सञ्चालन गर्ने गिरोहका सदस्यहरूले शिवमलाई समूहमा कुटपिट गर्दै धारिलो हतियार अर्थात् चक्कु प्रहार गरेका थिए ।
गम्भीर घाइते शिवमलाई तत्काल नारायणी अस्पताल पुर्याइए पनि राति ११ बजेर ५० मिनेटमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । बारा जिल्ला परवानीपुर गाउँपालिका – ९ का स्थायी बासिन्दा शिवम वीरगञ्जमा बस्दै रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए ।
घटना पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको निर्देशनमा तत्काल ‘अपरेशन च्यालेन्ज’ नाम दिएर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धान टोलीले घटनास्थलको मुचुल्का, शव परीक्षण र सिसिटिभी फुटेजको गहन विश्लेषण गर्दै २४ घण्टाभित्रै १० जना शङ्कास्पद व्यक्तिको पहिचान गर्दै २८ घण्टाभित्र पाँच जनालाई पक्राउ नियन्त्रणमा लिएको थियो ।
असोज १६ गते प्रहरीले पत्रकार सम्मेलनमार्फत वीरगञ्ज महानगरपालिका – २४ रामगढवाका गौतम पटेल, शुभ शङ्कर चौरसिया उर्फ सुभांकर, अमिरी पटेल उर्फ करणप्रसाद पटेल, चन्दन चौरसिया र अमन पटवालाई सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएकामध्ये केहीलाई घटनाकै राति वीरगञ्जबाट पक्राउ परेका थिए भने दुई जना भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेका अवस्थामा भारतीय सुरक्षा निकायको सहयोगमा नेपाल ल्याइएको प्रहरीले दाबी गरेको थियो ।
असोज २१ गते प्रहरीले मुख्य योजनाकार मानिएका एक १७ वर्षीय किशोरलाई पनि पक्राउ गरेको जानकारी सार्वजनिक गरेको थियो । किशोरले सामाजिक सञ्जालमार्फत शिवमलाई ‘घरमै बस्, नत्र मारिदिन्छु’ भनी धम्की दिएका थिए । पछि मन्टु पटेल नामक अर्का युवकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी अनुसन्धानबाट शिवम र खुनी दरिन्दे गिरोहबिच एक वर्षअघि पनि झगडा भएको र प्रहरीमा उजुरी परेको तथ्य खुलेको थियो । घटनाको दिन गिरोहका सदस्यहरूले नशालु पदार्थ सेवन गरेको र पुरानो रिसिइबी साँध्न शिवम एक्लै भएको मौका छोपेर हातमुक्का, बाँसको भाटा र चक्कु प्रयोग गरी हत्या गरेको पुष्टि भएको एसपी पाठकले जानकारी दिए । उनले हत्यामा किशोरावस्थाको बदलाको भावना, आफ्नो समूहको बर्चस्व कायम गर्ने उद्देश्य र कुख्यात बन्ने चाहना प्रमुख कारण रहेको उल्लेख गरेका छन् ।
अनुसन्धानको सबैभन्दा बलियो आधार घटनास्थलको सिसिटिभी फुटेज बनेको प्रहरीले जनाएको छ । यसका साथै ह्वाट्सएप ग्रुप ‘खुनी दरिन्दे’ को च्याट, कल डिटेल रेकर्ड, फेसबुक पोस्ट र साक्षी बयानको प्राविधिक विश्लेषणले अपराधीहरूको पहिचान र योजना पर्दाफास गर्न निर्णायक भूमिका खेलेको थियो । प्रहरीका अनुसार सिसिटिभी फुटेज नभएको भए यति छिटो सफलता प्राप्त हुन सम्भव थिएन ।
दसैँजस्तो चाडपर्वमा भएको घटनाले स्थानीयमा शान्ति सुरक्षाप्रति चिन्ता उत्पन्न गराएको थियो । प्रहरीले छोटो समयमै अपराधीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर शान्ति सुरक्षा कायम राख्ने सन्देश दिएको छ । प्रहरीले सबैलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न र पुरानो रिसिइबी त्याग्न आग्रह गरेको छ ।