काठमाडौं । निवर्तमान सांसद एवम् एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) फर्कन तयार भएको बताएका छन्। एमालेको नेतृत्वसँग पार्टीमा फर्कनेबारे कुराकानी भइरहेको बताउँदै सोमबारसम्म टुंगो लागिसक्ने बताए।
निवर्तमान सांसद श्रेष्ठले माओवादी केन्द्रसँग एकीकरण पनि नगर्ने र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालले अगुवाइ गरिरहेको पुनःगठन अभियानमा पनि नबस्ने बताए। “एकता प्रक्रियामा नजाने बताइसकेका छौं। हामी झलनाथ–घनश्यामसँग पुनःगठन गरेर पनि बस्दैनौं। अब बीचमा अल्झिएर बस्दैनौं। हाम्रो स्पष्ट कुुरा छ,” उनले भने, “एमालेमा फर्कने भने पनि उसले बाटो खोलिसकेको छैन। छलफल भइरहेको छ। अहिलेसम्म केही टुंगो लागेको छैन। हिजोदेखि क्रमशः कुरा भएको छ। आज केही न केही निष्कर्ष निस्कन्छ,” उनले भने।
एमाले फर्कन ठूलो पंक्ति तयार भएको बताएका छन्। अहिलेसम्म स्थायी कमिटी सदस्य रामकुमार झाक्री, निवर्तमान सांसदद्वय अमरबहादुर थापा, किसान श्रेष्ठ, डा वंशिधर मिश्र, होम बुढाथोकी, पीताम्बर तिमिल्सिना, अर्जुन राई लगायत नेताहरू रहेको उनले बताए।
‘केन्द्रीय नेताहरूको हकमा पार्टी एकता गर्ने पक्षमा धेरै होलान्,’ उनले भने, “कार्यकर्ता र मतदाताको पंक्तिमा एकता गर्नेभन्दा ठूलो जमात हामीसँग हुन्छ। प्रदेश, जिल्ला तलको कार्यकर्ता अहिले पनि एमालेमै फर्कने तयारीमा छन्।” एमाले अध्यक्ष ओलीले समूहगत प्रवेश नगराउने सन्दर्भमा पनि अप्ठ्यारो नभएको उनले बताए।
एमाले आफ्नै घर हो। कम्पाउन्डबाट छिराउँछन् कि पछाडिबाट छिराउँछन् कि, गेटबाट छिराउँछ कि, उनीहरूको कुरा हो,’ उनले भने। उनले आफूहरू पदको भोगी नभएको बताउँदै पार्टीमा बस्दा अपमानित हुनुनपरोस् भन्ने मात्रै रहेको बताए। “हामीलाई पद चाहिएको छैन। मीठो बोले पुग्यो, इज्जत गरिदिए पुग्यो। क्षमता अनुसारको जिम्मेवारी दिए पुग्छ। हामी त्यहाँ वरिष्ठ नेता, पदाधिकारी हुन जाने होइन,” उनले भने।
गत शुक्रबार एकीकृत समाजवादीले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक एवम् अन्य दलसँग हुने एकतामा मिसिने निर्णय गरेको थियो। आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ राजनीतिक दलबीच एकताको सहमति भइसकेको छ। कात्तिक २० गते एकीकृत पार्टीको केन्द्रीय समिति बैठक बस्नेछ।