काठमाडौं । एमालेले देशभरिका वडाहरूमा जनपरिचालन भेला सम्पन्न गरेको छ । प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा उसले देशका ६ हजार सात सय ४३ वटै वडामा शनिबार एकैपटक जनपरिचालन भेला सम्पन्न गरेको हो ।
जनपरिचालनअन्तर्गत एमालेले २५ कात्तिकमा सात सय ५३ वटै पालिकामा प्रदर्शन, २९ कात्तिकमा जिल्ला सदरमुकाममा प्रदर्शन र सभा तथा ६ मंसिरमा काठमाडौंमा बृहत् आमसभा गर्दै छ ।
त्यही तयारीअन्तर्गत भेला सम्पन्न भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । वडा तहका भेलामा एमालेका जिल्ला र पालिकास्तरीय नेताहरू, वडा कमिटी, जनवर्गीय संगठन र संगठित सदस्यहरू परिचालित छन् ।
१५ कात्तिकमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले २७ देखि २९ मंसिरमा सम्पन्न महाधिवेशन तयारीलाई संसद् पुनर्स्थापनाका पक्षमा देशैभर जनपरिचालन गरेर अवसरका रूपमा उपयोग गर्ने नीतिअन्तर्गत कार्ययोजना पास गरेको थियो ।
जेन–जी आन्दोलनपछि सत्ताच्युत भएर किनारीकृत भएसँगै एमालेले पहिलोपटक सम्पूर्ण शक्ति परिचालित गर्दै जनपरिचालन अभियानलाई तीव्रता दिएको हो ।