काठमाडौं । नेकपा (एमाले)को जनपरिचालन कार्यक्रमअन्तर्गत आज सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदैछ ।
प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ ।
गौतमले दिएको आजको कार्यक्रममा कतिपय पालिकाहरुले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम राखिएको छ ।
आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको छ ।
प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घनाबस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोणसभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरुलाई एमालेले निर्देशन गरेको छ ।
जनप्रर्दशनका तस्वीर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरुमा पठाउन पनि एमालेले यसअघि नै निर्देशन गरेको छ ।
आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।
यस्तो छ आजको जनप्रर्दशनका लागि एमालेले तय गरेको नाराहरु
प्रतिगामी षडयन्त्र – मुर्दावाद ।
विघटित प्रतिनिधिसभा – पुनर्स्थापना गर ।
२३ र २४ को अपराधिक घटनाको – निस्पक्ष छानविन गर ।
तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई – कारबाही गर ।
हत्या, हिंसा, आतंक – बन्द गर ।
नेकपा(एमाले) – जिन्दावाद ।
जनताको बहुदलीय जनवाद – जिन्दावाद ।