काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा साथ छाड्ने नेताहरूलाई फर्काउने प्रयास थालेका छन्।
अशोक राईको नेतृत्वमा पार्टी फोडेर जसपा गठन गरेपछि मधेशमा कमजोर बनेको उपेन्द्र चुनावअघि नै सके एकता नभए चुनावी तालमेलको प्रस्तावसहित छलफलमा थालेका हुन्।
उनले हालै मात्रै विगतमा पार्टी छाडेर जानेहरूलाई घर फर्किन आह्वान गरेका थिए। त्यही अनुसार परिपत्र जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्न प्रयास गर्ने जानकारी गराएका छन्।
परिपत्रमा भनिएको छ, ‘विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गर्ने, यसका अतिरिक्त अवस्था हेरी अन्य दलहरूसँग सीटको पनि तालमेल गर्न सकिनेछ ।’
संघीय लोकतान्त्रिक मोर्चालाई अझ बढी क्रियाशील, प्रभावकारी र सबल बनाउँदै संघीयता, समानता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायका विरुद्ध रहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्न समय र परिस्थितिअनुसार अन्य दल वा मोर्चासँग पनि सहकार्य गर्न सकिने जानकारी गराएका छन्।
उपेन्द्रले पछिल्लो समय अशोक राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत मधेस केन्द्रित दलहरूसँग संवादमा छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबाट एकताको प्रस्ताव आएको मङ्गलवार जसपाका अध्यक्ष अशोक राईले बताएका थिए। आफूहरू छलफलमा गर्ने र कुरा मिले सहकार्य हुनसक्ने संकेत गरेका थिए।
‘चुनावले मुलुकलाई यथास्थितिमा फकाउँछ’
मुलुकको वर्तमान संविधानलाई संशोधन, परिमार्जन तथा पुनर्लेखन नगरी, राजनीतिक प्रणालीमा क्रान्तिकारी परिवर्तन र रूपान्तरण नै नगरी केवल झुटा आश्वासनको भरमा जेनजीले उठाएका माग र मुद्दाहरूलाई सम्बोधन गर्न सक्ने अवस्था नै नरहेको जसपा नेपालको बुझाइ छ।
उपेन्द्रले जारी गरेको परिपत्रमा भनिएको छ, ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी संसद्, समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणाली, संवैधानिक अङ्गहरू, प्रादेशिक संरचना, पहिचान, समावेशिता र सामाजिक न्यायसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्न संविधान संशोधन वा पुनर्लेखन अवश्य गरिनुपर्दछ । त्यसको लागि प्रतिनिधि सभालाई कायमै राखिनु पर्दथ्यो ।’
प्रतिनिधि सभाको विघटन पनि संविधान अनुकूल नभएको निष्कर्ष छ।
‘यथास्थितिमा गरिने संसदीय निर्वाचनले परिवर्तनकारी शक्तिहरूले उठाउँदै आएका मुद्दाहरू पूर्णरूपले हल हुन सक्दैन तर पनि नयाँ प्रतिनिधि सभाले स्थान ओगट्नेछ र मुलुक पुनः यथास्थितिमा फर्किनेछ । प्रतिगमनकारी शक्तिहरू परास्त हुनेछन्’ परिपत्रमा भनिएको छ।
अनुशासनमा कडाइ
पार्टी शुद्धीकरण, सुदृढीकरण र अनुशासन पार्टीपंक्तिलाई कडाइ गरिएको छ। पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेख्न समेत प्रतिबन्ध लगाइएको छ।
पार्टी अनुशासनबारे उपेन्द्रको निर्देशन जस्ताको तस्तै-
मुलुकमा संघीयता, सुशासन, समानता, स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न सकोस् । उत्पीडित वर्ग, उत्पीडित जात, जाति, उत्पीडित समुदाय अर्थात् उत्पीडित र उपेक्षित राष्ट्रियताहरूको हक, अधिकार र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्षम् होस् । सशक्त क्रान्तिकारी र शक्तिशाली पार्टी सङ्गठन निर्माण गर्न दह्रो पार्टी अनुशासनको पालना हुनैपर्दछ ।
पार्टीलाई विधान, विधि र प्रक्रियाबमोजिम सञ्चालन हुनुपर्ने भन्दै पार्टीविरुद्ध आन्तरिक र बाह्य दुवै तर्फबाट व्यापक षड्यन्त्र, चलखेल, आक्रमण गरी विखण्डनसमेत गराएका छन्। यसको पनि अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु पर्ने नै छ । विगतको घटनाक्रमलाई मूल्याङ्कन गरी भविष्यमा हुनसक्ने घुसपैठ तथा षड्यन्त्र, चलखेल र दुर्घटनाबाट पार्टीलाई जोगाउन पार्टीका सम्पूर्ण सदस्यहरू सचेत र चनाखो रहनुपर्दछ’ परिपत्रमा भनिएको छ, ‘रोगको निदान समयमै गर्नुपर्दछ ।
पार्टीको नीति, सिद्धान्त, निर्णय र विधान तथा कार्यपद्धति विपरीत कार्य गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र पार्टीभित्र गुटबन्दी सिर्जना गर्ने, पार्टी र नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने, सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्स्टाग्राम आदिलाई प्रयोग गरी पार्टी र पार्टीका नेताहरूविरूद्ध नकारात्मक प्रचार गर्ने, पार्टी अनुशासन उल्लङ्घन गरी हिँड्ने, आफूलाई पार्टीले दिएको दायित्व र जिम्मेवारी पूरा नगर्ने, तर आफूले पाएको जिम्मेवारी वा आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गई अर्काको कार्यक्षेत्र वा क्षेत्राधिकारमाथि हस्तक्षेप गरी पार्टी संगठनभित्र गुट, उपगुट खडा गरी एक अर्कालाई आपसमा लडाउनेरभिडाउने कार्य गरी आन्तरिक द्वन्द्व सिर्जना गरेर पार्टीलाई नोक्सान पुर्याउने जस्ता कार्यहरू पार्टी विधान, नीति, सिद्धान्त र कार्यपद्धति विपरीत कार्यहरू हुन् ।
पार्टीविरुद्ध रहेका व्यक्ति वा शक्तिसँग साँठगाँठ गरी पार्टीलाई कमजोर पार्ने, पार्टीविरुद्ध षड्यन्त्र गर्ने, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि मात्र कार्य गर्ने, पार्टीभित्र अनावश्यक द्वन्द्व सिर्जना गर्ने जस्ता गैर(राजनीतिक चरित्र र प्रवृत्तिबाट पार्टीलाई जोगाउँदै पार्टीको कान्तिकारी सिद्धान्त एवं कार्यपद्धति र सङ्गठनात्मक शक्तिलाई रक्षा गर्दै असामाजिक प्रवृत्ति, चरित्र र क्रियाकलाप तथा पार्टीलाई कुनै प्रकारले हानी नोक्सानी पुर्याउने खालका पार्टीभित्र वा बाहिरका प्रवृत्तिविरुद्ध सदैव चनाखो र सचेत रहनुपर्दछ ।
यस्ता प्रवृत्ति, चरित्र र क्रियाकलाप गर्ने पार्टीका जुनसुकै तहमा रहेका व्यक्तिहरूको पहिचान गरी मातहतका समितिले पार्टी विधानअनुसार अनुशासनको कार्यवाही गर्नुपर्दछ । पार्टीहीत विपरीत क्रियाकलाप गर्ने र पार्टी आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि पार्टीले कार्यवाही गर्नुपर्दछ।