काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ नभई संकटतर्फ लगिरहेको दाबी गरिरहेका छन् । लोकप्रिय पार्टीको नेतालाई स्थान हदले चुनाव हुने नभइ मुलुकमा संकट निम्तिने उनको भनाइ छ ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले देशको संकट टार्न प्रतिनिधिसभाको पुन:स्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताएका छन् ।
‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनु पर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ । यी सबै काम गर्नका लागि पहिलो शर्त प्रतिनिधिसभाको पुन:स्थापना हो ।’
केही मानिसहरूले दल सिद्धिए, खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य वडा र पालिकाको प्रदर्शनले खण्डित पोखरेलको जिकिर छ ।
‘दलहरू सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिसहरू सडकमा आए । जनताहरू एमालेको साथमा छन् भन्ने यो भन्दा ठूलो प्रमाण के हुन्छ ?’
महासचिव पोखरेलले केही मान्छे सडकमा आँउदैमा सरकार ढल्ने, संविधानमा तलमाथि हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताएका छन् ।
जेन-जीका नाममा भएको आन्दोलनमा व्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहीनताको अवस्थामा पुर्याउन खोजिएको उनको भनाइ छ ।
‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोऊँ । यो त नेपाललाई राज्यविहीन बनाउने, नेपाल र सारा नेपाली जनता माथी भएको प्रहारको रूपमा बुझ्नु पर्दछ । ’