भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिवद्धता खोज्नु नहुने बताएका हुन् ।
एमाले झापाका अगुवा कार्यकर्ताहरुलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पद भएको बताए ।
अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरुलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताए ।
‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरुलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै भने, ‘राजनीतिक दल र नेताहरुलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’
अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको बताए । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताए । यस्ता सुरक्षा समितीले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरुलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने बताए ।
अध्यक्ष ओलीले गैरसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले प्रतिनिधि सभाको पुनर्स्थापनामार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताए ।
बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भव्य रुपमा आयोजना गर्न निर्देशन दिएका छन् । उनले केन्द्रीयस्तरको जनपरिचालन कार्यक्रम सकिए पनि जिल्लाले अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन पनि निर्देशन दिए ।
बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३–२४ को विध्वंस, आगजनी, र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।