मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योगले डेढ दशकदेखि कार्यरत स्थानीय सुरक्षा गार्डहरूलाई कामबाट निष्कासन गरेपछि उनीहरू आन्दोलित भएका छन् । घरपायकको उद्योगमा पाइरहेको रोजगारी खोसिएको भन्दै पीडितहरूले सोमबारदेखि उद्योगको मुख्य प्रवेशद्वारमै धर्ना दिएर विरोध प्रदर्शन सुरु गरेका हुन् ।
उद्योग व्यवस्थापनले सुरक्षा व्यवस्थापनको जिम्मा ‘गोरखा सेक्युरिटी कम्पनी’लाई दिनेगरी नयाँ सम्झौता गरेपछि कार्यरत २७ जनामध्ये २० जना रोजगारीबाट निकालिएका छन् । यसअघि उद्योगको सुरक्षा जिम्मा ‘बज्र सेक्युरिटी’ले लिएको थियो ।
निष्कासनमा परेका सुरक्षा गार्डहरू हेटौंडा–१६ र १७ का स्थानीय बासिन्दा हुन् । विगतमा जुनसुकै सुरक्षा कम्पनीसँग सम्झौता भए पनि उद्योगले स्थानीय बासिन्दालाई प्राथमिकता दिँदै रोजगारीको अवसर प्रदान गर्दै आएको थियो ।
तर, यसपटक उद्योगले भूपू सैनिक तथा प्रहरीलाई मात्र सुरक्षा गार्डमा राख्ने सर्तसहित गोरखा सेक्युरिटीसँग सम्झौता गरेपछि ‘सिभिलियन’ (गैर–सैनिक) गार्डहरू विस्थापित भएका हुन् ।
यस विषयमा गोरखा सेक्युरिटीका अपरेसन म्यानेजर लिला सिंह धामीले आफूहरू सम्झौतामा बाँधिएको बताए । उनले भने, ‘हामीलाई उहाँहरूलाई काममा राख्न समस्या थिएन । तर, उद्योगले नै सम्झौतामा पूर्वसैनिक र प्रहरी अनिवार्य हुनुपर्ने बुँदा राखेपछि हामीले सोही अनुसारको जिम्मेवारी पूरा गरेका हौँ । यो समस्या हाम्रो नभई उद्योगको नीतिगत निर्णयका कारण उब्जिएको हो ।’
धर्नाका कारण उद्योगमा सिमेन्ट तथा कच्चा पदार्थ ओसारपसार गर्ने सवारी साधनहरूको आवागमन मुख्य गेटमै रोकिएको छ । आन्दोलनरत पक्षले आफूहरू गोरखा सेक्युरिटीमा आबद्ध भएर पुनः शिवम सिमेन्टकै सुरक्षा गार्डका रूपमा काम गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले कात्तिक ३० गते नै बज्र सेक्युरिटीबाट राजीनामा दिइसकेको बुझिएको छ ।
आन्दोलनरत गार्ड विनोद घिमिरेले उद्योगको रवैयाप्रति आक्रोश पोखे । ‘वायुदेखि ध्वनिसम्मको प्रदूषण हामीले सहनुपर्ने, अनि अहिले आएर कामबाट चाहिँ स्थानीयलाई नै हटाउन पाइन्छ ?’ उनले प्रश्न गरे ।
उद्योग प्रशासन र सेक्युरिटी कम्पनीले निष्कासित कामदारलाई शिवम सिमेन्टबाहेक अन्यत्र रोजगारी दिन सकिने विकल्प अघि सारेका छन् । तर, आन्दोलनरत स्थानीयहरूले आफ्नै आँगनमा रहेको उद्योगमा काम पाउनुपर्ने र उद्योगले स्थानीयलाई नै प्राथमिकता दिनुपर्ने अडान राखेका छन् । उनीहरूले माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।
पछिल्लो समय देशको राजनीतिक घटनाक्रमको कारण बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उद्योगको सुरक्षा व्यवस्थापन व्यवस्थित बनाउन उद्योगले पूर्व सैनिक मात्रै माग गरेको बुझिएको छ ।
भदौ २४ गते भएको जेनजी आन्दोलनको नाममा केही स्थानीयहरुले उद्योगको गेट नजिकैको कार्यलयमा समेत तोडफोट गरेका थिए ।