काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशमा एमाले एक्लो पर्नुको कारण खोजिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहान मधेशमा एमालेको स्खलनबारे व्याख्यासहित टिप्पणी गरेका छन् र भनेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् मधेशमा एमाले बलियो बनाउन लागेका बेला कसले किन खेलबाड गरेर एमाले एक्लो भयो, समीक्षा होस् ।’
मधेशमा नयाँ जिम्मेवारीका साथ गएर पार्टी निर्माण जरुरी भएको सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’
उनले फेसबुकमा राखेको धारणाः
मधेशमा एमालेः
२०७२ साल असोज ३ गते तत्कालीन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केही वर्ष मधेश प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रह्यो ।
एमालेमाथि विभिन्न शक्तिले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साँधियो । पार्टी कार्यालयलगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटकपटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेशमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेश प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों । नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्यो । प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो पार्टी बन्यो । अन्तिम बेला प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याउन सकेको भए परिणाम अझ राम्रो हुने थियो । मधेशमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ । उहाँले मसिनो ढंगले मधेशको कामको व्यवस्थापन तथा व्यक्ति–व्यक्तिको खटनपटन गर्नु भएको थियो । पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरूलगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।
यसबीचमा मैले करिब १५ महिना मधेश प्रदेशको इञ्चार्जको भूमिका निर्वाह गरेँ । त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउन मूलतः संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौँ । प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा स्वयम् पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ ।
मधेशमा रहेको जातीय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनविरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा एमालेले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संशाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड़ र तराई–मधेशको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेशमा पार्टीको जनआधार बिस्तारमा मुख्य पक्ष हुन भने अर्कोतिर भूमिगतकालमा समेत मधेशका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो । त्यतिबेला जनतासँग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेल लगायतका नेताहरूलाई यसको श्रेय जान्छ ।
आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ ।
सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ ।
राजनीतिकरूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ?
मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।