काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको धुलो–धुवाँ झण्डै १५ किलोमिटर माथिसम्म पुगेको थियो ।
विष्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडयुक्त बादल लाल सागर पार गर्दै यमन, ओमान हुँदै, भारत, नेपाल र चीनसम्म फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इथियोपियाबाट ४३ सय किलोमिटरको दूरीमा रहेका भारतको राजस्थान, गुजरात, महाराष्ट्र, दिल्ली र पञ्जाबमा पनि उक्त बादल फैलिएको थियो ।
भारतको मौसम विज्ञान विभागले खरानीको बादल मंगलवारदेखि हटेको र भारतबाट नेपालको आकाश हुँदै चीनतर्फ गएको बताएको छ ।
भारत लगायतका देशमा हवाई उडान प्रभावित
विष्फोटका कारण आकाशमा मडारिएको बादल र धुलोको कणका कारण भारतको एअर इन्डियाले आफ्ना ११ उडानहरू रद्द गरेको थियो । विज्ञहरूले बादल अत्यधिक उचाइमा गएका कारण आमनागरिकको जनजीवनमा भने असर नपरेको बताएका छन् ।
इथियोपियामा भएको ज्वालामुखी विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । तर, यमन र ओमान सरकारले आफ्ना नागरिकलाई सावधानी अपनाउन सचेत गरेका छन् ।
बादलका कारण हवाई जहाजको उडानमा प्रभाव परेको थियो । ज्वालामुखीका कारण आकाशमा उडेको खरानीले जहाजको इन्जनमा क्षति पुग्ने भएकाले ‘इन्टरनेसनल एभिएसन प्रोटोकल’ अनुसार सतर्कता अपनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेपालमा पनि हवाई उडानमा असर
ज्वालामुखी विष्फोटबाट निस्किएको धुलोका कणसहितको बादल ४३ हजार फिट माथिसम्म थियो । त्यो नेपालको आकाशमा पनि थियो । तर धेरै माथि भएकाले नेपालीजनमा भने असर नपरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद बरुण पौडेलले बताए ।
‘त्यो धेरै नै माथि भएकाले नेपालमा महत्व दिइएन,’ पौडलले भने, ‘पानी परेको भए एसिड तल झर्थ्यो तर पानी पनि नपरेकाले केही असर भएन ।’
तर नेपालम आउने ७ अन्तर्राष्ट्रिय उडानहरु भने रोकिएका थिए ।
वैज्ञानिक अध्ययनका लागि एक दुर्लभ अवसर
वैज्ञानिकहरूले हजारौं वर्षपछि भएको ज्वालामुखी विष्फोटको घटनालाई इथियोपियाको इतिहासको सबैभन्दा असाधारण घटनामध्ये एक भएको बताएका छन् ।
गल्फ न्युजका अनुसार विस्फोटका साथ ठूलो मात्रामा सल्फर डाइअक्साइड (एसओ–टु) भी निस्किँदा पर्यावरण र स्वास्थ्यमा असर पर्ने चिन्ता बढेको छ ।
‘इमिरेट एस्ट्रोनमिकल सोसाइटी’ का अध्यक्ष इब्राहिम अल जरवानले ज्वालामुखीबाट अचानक बढी मात्रामा एसओ–टु निस्कनुलाई भूगर्भमा दबाव बढी रहेको भनेर बुझ्नु पर्ने बताएका छन् ।
भूगर्भमा म्याग्मा हल्लिरहेको र फेरि विस्फोट हुन सक्ने उनको भनाइ छ । अल जरवानले भने, ‘यो घटना वैज्ञानिकका लागि एक दुर्लभ अवसर हो । लामो समयपछि भएको विष्फोटबाट उनीहरू ज्वालामुखीलाई नजिकबाट अध्ययन गर्न सक्छन् ।’