काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्नेबारे विवाद उत्कर्षमा पुगेपछि सभापति शेरबहादुर देउवा निकासका लागि जुटेका छन् । सभापति देउवाले अहिले आफू बसिरहेको घरमा संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेका हुन्
साढे एक बजेबाट सुरु भएको छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजय गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा शशांक कोइराला तथा संस्थापन पक्षका अहिलेका पदाधिकारीहरू सहभागी छन् ।
छलफलमा सहभागी एक नेताले देउवाकै नेतृत्वमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिए ।
कांग्रेसमा संस्थापन पक्षले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले कुनै पनि हालतमा निर्वाचनभन्दा अघि महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।
दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहेपछि पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका सभापति देउवा पुन: अनौपचारिक रूपमा सक्रिय भएका हुन् ।
निकटस्थ स्रोतका अनुसार सभापति देउवा विशेष महाधिवेशन गर्न नहुने पक्षमा अडिग छन् । तर, निर्वाचन अगाडि महाधिवेशन प्रक्रिया सुरु गर्न भने सकारात्मक छन् ।
कांग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए ।