काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोडसेडिङ अन्त्यको जस लिएर ऊर्जामन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल’ पार्टी खोलेको भन्दै असन्तुष्टि जनाएका छन्।
घिसिङले बुधबार ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरेसँगै महासचिव पोखरेलले लोडसेडिङ अन्त्यको ’जस’ माथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन्।
लोडसेडिङ अन्त्यको प्रमुख जस लिँदै घिसिङले सोही ‘ब्रान्ड’ मा राजनीतिक दल खोलेको भन्दै उनले कटाक्ष गरे। महासचिव पोखरेलले ऐतिहासिक तथ्यलाई समेत बङ्ग्याइएको दाबी गरे।
महासचिव पोखरेलले नेपालमा लोडसेडिङ अन्त्यको वास्तविक योजनाकार केपी शर्मा ओली भएको संकेत गरेका छन्। घिसिङले अरूकै योजनाको जस लिएर राजनीति गर्न खोजेको उनको आरोप छ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले। जसको योजना उसैलाई श्रेय दिने कहिले ?’
यद्यपि पोखरेलले योजना बनाउने र जस पाउने को हुन् भनेर स्पष्ट खुलाएका छैनन्। तर, पोखरेलको सङ्केत अनुसार ‘योजना बनाउने’ केपी ओली, ‘जस पाउने’ तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र अहिले त्यसैलाई भजाएर ‘पार्टी खोल्ने’ कुलमान घिसिङ हुन् भन्ने अनुमान गर्न सकिन्छ।
किनकि, नेकपा एमालेले २०७२ सालमा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपाललाई लोडसेडिङ मुक्त गर्ने ठोस कार्ययोजना अघि सारेको दाबी गर्दै आएको छ।
त्यसबेला दैनिक १८ घण्टासम्मको लोडसेडिङ भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले एक वर्षभित्र आधारभूत रूपमा र दुई वर्षभित्र पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए।
सोही घोषणा अनुरूप ९९ बुँदे ऊर्जा सङ्कट निवारण कार्ययोजना ल्याइएको र भारतबाट थप बिजुली ल्याउने (ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन स्तरोन्नति) काम ओली सरकारकै पालामा भएको एमालेको जिकिर छ।
२०७३ साउनमा ओली सरकार ढलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री बने।
सोही वर्षको भदौमा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भए। त्यसको दुई महिनापछि २०७३ कात्तिक, लक्ष्मीपूजादेखि काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्यको घोषणा गरियो।
यही घटनाक्रमलाई लिएर एमाले महासचिव पोखरेलले ओलीले बनाएको आधार र योजनामा टेकेर पछि आउनेहरूले जस मात्र लिएको तर मुख्य योजनाकार (ओली) लाई बिर्सिएको गुनासो गरेका हुन्।
अहिले घिसिङले सोही ‘उज्यालो नेपाल’ को नारालाई राजनीतिक दलमा रूपान्तरण गरेपछि एमाले नेतृत्व थप चिढिएको देखिन्छ।