काठमाडौं । सर्वोच्च अदालतमा बहसका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फरक प्रसंग निकालेर र्याखर्याख्ती पारेपछि आज इजलासमै एक वकिल ढलेका छन् । एमालेले संसद विघटनविरुद्ध हालेको रिटमा बहस हुनुभन्दा अगाडिको इजलासमा यो घटना भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवा अधिवक्ता सुलभ खरेल एउटा भ्रष्टाचारसम्वन्धी व्यक्तिकेन्द्रीत मुद्दामा बहसका लागि खडा भएका थिए । उनीसँगै निवेदकको तर्फबाट बहस गरिरहेका थिए वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई । भट्टराईकै ल फर्ममा काम गर्छन् अधिवक्ता खरेल ।
यो बहस लगत्तै एमालेको मुद्दामा बहस हुने भएकाले त्यसका निवेदक र वकिलहरूसमेत इजलासमा उपस्थित भइसकेका थिए । खरेलले बहस सुरु गर्नुअघि प्रधानन्यायाधीश र न्यायाधीशले उनीमाथि आचरणजन्य सवालहरू गर्न थाले । ती सवाल थिए खरेलले गत जेनजी आन्दोलनका क्रममा फेसबुकमा लेखेका स्टाटसहरुबारे ।
गत भदौ २४ गतेको जेनजी आन्दोलन विध्वंसात्मक बनेपछि सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो । उक्त आगजनी हुँदै गर्दा खरेलले विवादित स्टाटस लेखेका थिए, जसलाई लिएर उनले पछि माफी मागे ।
स्टाटस यस्तो थियो:
सर्वोच्च अदालत जल्दै गर्दा तपाईँको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईँको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरू मेरो आँखामा संवैधानिक चोरहरू हुन् । साँच्चिकै संवैधानिक फटाहाहरू हुन् ।
अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरूको तथा नेपाल बार र मातहत बारहरूको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्ती चाहिँदैन ।
प्रधानन्यायायीशले सर्वोच्च अदालत जल्दा खुसी मनाउने वकिललाई बहसमा उभिने नैतिकता हुन्छ ? भनेर सोधेका थिए । यसमा खरेलले आफ्नो बचाउ गर्दै पहिल्यै गल्ती महसुस गरेर माफी मागिसकेको बताए । तर, प्रधानन्यायाधीश राउतसहित संवैधानिक इजलासका सबै न्यायाधीशहरु एकसाथ खनिन थालेपछि खरेल रातोपिरो बने । अनुहारबाट चिटचिट पसिना आइरहेको थियो । ३–४ मिनेटपछि उनी भक्लक्कै लडे ।
वकिल ढलेपछि अदालतमा स्तब्धता छाएको थियो । खरेलको पछाडि रहेका एमालेका नेता महेश बर्तौलाले उनलाई उठाए र कुर्सीमा राखे । पानी पिउन दिइयो । एक मिनेटभित्रै खरेलको होस खुलेको थियो ।
खरेल होसमा आएपछि बहसलाई निरन्तरता दिइयो । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले खरेलको स्टाटसका लागि इजलाससामु माफी मागे ।
खरेलले बल्लतल्ल उठेर आफ्नो थप बचाउ गरे । आफ्नो स्टाटसलाई तोडमोड गरिएको तर आफ्नो आशय अदालत जलाउनुपर्छ भन्ने नभएको दाबी गरे । यद्यपि, आफूले लेखेको विषयमा उनले फेरि क्षमा मागे ।
यो बहस स्थगन गर्दै प्रधानन्यायाधीसले अधिवक्ता खरेललाई अस्पताल जान सुझाव दिएका थिए ।
नेपाल प्रेससँग गर्दै खरेलले आफ्नो ब्लड प्रेसर लो भएर ढलेको बताए । उनले भने, ‘त्यहाँबाट निस्किएर ब्लड प्रेसर चेक गराऊँ लो भएको रहेछ । पहिले पनि यदाकदा यस्तो भएको थियो ।’
प्रधानन्यायाधीश र न्यायाधीशहरुले सोधेका प्रश्नहरूबारे उनले धेरै बोल्न चाहेनन् । खरेलले यति मात्रै भने, ‘उहाँहरूले त्यो विषय कोट्याएपछि अलिकति असहज भएको हो । केही सञ्चारमाध्यममा आएका फेक न्युजहरूलाई आधार बनाएर प्रश्न सोध्दा अलिकति दुख लाग्यो । तर मलाई यसमा केही भन्नु छैन ।’
खरेल रास्वपासँग निकट छन् । उनले रुपन्देहीमा हुन लागेको उपनिर्वाचनका लागि रास्वपाको प्राइमरी इलेक्सनमा भाग लिएका थिए । उनलाई बलियो दाबेदारका रूपमा हेरिएका थियो । तर, उनी सर्ट लिस्टमा परे पनि अन्तिममा उम्मेदवार छनोट हुन सकेनन् ।