काठमाडौं । नागरिक सरकार भनिएको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री कुलमान घिसिङले सरकारी स्रोतसाधनको चरम दुरुपयोग गरेर आफ्नो पार्टीको पक्षमा भोट मागेका छन् ।
सरकारी सुरक्षा, गाडी लिएर सरकारी कार्यक्रममा हिँडेका घिसिङले सरकारी मञ्चबाट नै खुल्ला रूपमा आफूले घोषणा गरेको उज्यालो नेपाल पार्टी (उनेपा)लाई भोट मागेका हुन् । घिसिङले देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा पुग्नुपर्ने भन्दै त्यसको लागि आफ्नो पार्टीको पक्षमा सहयोग गर्न आह्वान गरेका हुन् ।
रामेछापको सुनापति गाउँपालिकामा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै कुलमानले देश बनाउनको लागि आफूले पार्टी दर्ता गरेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरे । आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिनसक्ने व्यक्ति आफू भएको पनि उनले दाबी गरे । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको घिसिङले बताए । उनले आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताए ।
‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईंहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईंहरूलाई आग्रह गर्दछु’, उनले भने ।
घिसिङले देशभरि नै बिजुलीको उज्यालो आफूले पुर्याएको दाबी गरे । रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरिबाट योग्य मानिसलाई चुन्न पनि उनले आग्रह गरे । सुशासनको कुरा गरिरहँदा घिसिङले आफूले सरकारी साधन, स्रोत र मञ्चको दुरुपयोग गरेर पार्टीलाई भोट मागिरहेको कुरा सायद बिर्सिए ।
घिसिङले मञ्चमा आफ्ना कुरा राखिरहँदा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं मञ्चमा अप्ठेरो मान्दै मोबाइल चलाउँदै थिए । यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष लगायत बहुसङ्ख्यक वडाध्यक्षहरू माओवादी पार्टीबाट निर्वाचित छन् । उनीहरु कार्यक्रममा उपस्थित थिए । सुनापति घिसिङको गृह गाउँपालिका पनि हो ।
आफू नेतृत्वको सरकारलाई दल बाहिरको पूर्ण नागरिक सरकार बताउने प्रधानमन्त्री कार्कीले घिसिङको यो गतिविधि थाहा पाएकी छैनन् वा थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेकी हुन् । कि कार्कीकै योजना अनुसार यी गतिविधि भइरहेका छन् ? प्रश्न उब्जिएको छ ।