काठमाडौँ । भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस जारी छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थुनछेक बहस भइरहेको हो ।
हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरू विरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर छ ।
अख्तियारले अधिकारीसहित ६ जना र परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी कायम गरेर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । साढे १७ करोड लागत अनुमानमा तयार गरिएको हेलिपोर्ट हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । यद्यपि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोमिटर पूर्वमा रहेको हेलिपोर्ट ७ असार ०८१ देखि व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो ।
सञ्चालनयोग्य नरहेको, असुरक्षित र अनुपयुक्त स्थानमा व्यावसायिक योजना, लाभ, लागत विश्लेषणविना अस्वाभाविक रकम खर्च गरी हेलिपोर्ट निर्माण गरेको देखिएको अख्तियारको निष्कर्ष छ । यस्तै, बदनियतपूर्ण तरिकाले हेलिपोर्ट आयोजना अघि बढाएको, कानुन पालना नगरेको र अनेकौँ प्रक्रियागत त्रुटिसमेत भएको अख्तियारले औँल्याएको छ । उद्देश्यअनुरूप हेलिपोर्ट सञ्चालनमा आउन नसकेकाले सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी तथा दुरुपयोग भएको तथ्य पुष्टि भएको अख्तियारको ठहर छ ।
हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेकामा प्रतिवादी कायम गर्दै प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई अख्तियारले पक्राउ नै गरेर मुद्दासहित अदालतमा उपस्थित गराएको थियो । प्राधिकरणका प्रबन्धक नलविक्रम थापा र उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ पनि प्रतिवादी छन् ।
उनीहरू सबैविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो छ । यही नै संयुक्त बिगो कायम गरेर अख्तियारले परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।