काठमाडौं । अस्ट्रियाकी डकुमेन्ट्री तथा छोटो फिल्मकी निर्देशक-निर्मात्री क्यारोला मायरले काठमाडौं आउने भएकी छिन् । शुक्रबार अस्कर कलेजमा उनी निर्देशित डकुमेन्ट्री ‘हेल वाच’ प्रदर्शन गरिनेछ ।
उक्त फिल्म अष्ट्रियाली लेखक, पर्वतारोही तथा भेडी गोठाले बोडो हेलका बारेमा बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो । बुधबार काठमाडौं आइपुग्ने उनले शुक्रबारसम्म अस्कर कलेजका कार्यक्रममा भाग लिनेछिन् ।
सोही अवसरमा नेपाली मिडिया र फिल्ममेकरसँग छलफल गर्ने अस्कर कलेजका संयोजक नवनिधि दाहालले जनाए ।
दाहालका अनुसार सो अवसरमा अस्ट्रियाको विदेश मन्त्रालयले छनोट गरेका ‘१२ प्रभावशाली महिला’ को प्रोट्रेट चित्र प्रदर्शनीमा राखिनेछ । फिल्ममेकर मायर पनि उक्त सूचीमा समावेश छिन् ।
वृत्तचित्रको प्रदर्शनी लगत्तै ३ दिने ‘क्यालिओप प्रस्तुति’ को पनि सुरुवात हुने संयोजक दाहालले जनाए । २६ देखि २८ मंसिरसम्म क्यालिओप प्रस्तुति रहने जनाइएको छ ।
आइएमडीबीका अनुसार, मायर निर्देशित डकुमेन्ट्री फिल्महरू प्रिसिअस लिबनसर्ट, लिबेस लिबेन, रे अफ लाइट, वाइल्ड हि आर्ट, स्टोन अफ पिस लगायत चर्चित छन् ।
अस्कर कलेजको कार्यक्रम सकिएपछि मायर पोखरा घुमघाममा ब्यस्त हुनेछिन् ।