वीरगञ्ज । विरगञ्ज महानगरपालिका–रानीघाटस्थित नयाँ बस्तीका स्थानीयबासीले मेयर राजेशमान सिंहप्रति अझ कडा आक्रोश पोख्दै “सिंहको भव्यता यही हो?” भन्दै प्रश्न उठाएका छन्।
वर्षा भएको यतिका दिन बितिसक्दा पनि पानी निकास नहुँदा थुप्रिएको हिलो र खाल्डाखुल्डीले स्थानीयको दैनिकी प्रभावित बनेको छ। समस्या यस्तो छ कि विद्यार्थीहरूलाई विद्यालय आवत–जावत गर्नसमेत कठिनाइ भएको अभिभावकहरूको गुनासो छ।
समस्या समाधानका लागि बारम्बार महानगरलाई आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि स्थानीय घरधुरीहरूले आफैँ पैसा उठाएर बाटो बनाउन थाल्नु परेको उनीहरूको दाबी छ।
स्थानीयका अनुसार, मेयर सिंह जनताको दुःख–कष्ट हेर्नेभन्दा आफ्नो छवि चम्काउने काम र भोटको राजनीतिमा मात्र व्यस्त छन्। आधारभूत आवश्यकतामै बेवास्ता हुँदा पनि मेयर सिंहले आफूलाई ‘विकासकर्ता’का रूपमा चित्रण गर्न खोज्नु हास्यास्पद भएको टिप्पणी उनीहरूको छ।
नयाँ बस्तीका बासिन्दाले भने, “हामीले तिरेको कर कहाँ खर्च भयो? हामी विद्यालय जाने बाटोसमेत नपाएर हिलोमै कुदिराखेका छौँ, यो हो मेयर सिंहको विरगञ्ज विकास?” भनी कडा प्रतिक्रिया दिएका छन्।
उनले महानगरलाई आलिसान भवन, ठूला परियोजना र व्यक्तिगत शो–अपमा मात्र केन्द्रित, तर जनताको जिउज्यानसँग जोडिएका आधारभूत पूर्वाधारप्रति पूर्ण बेवास्ता गरेको आरोप लगाएका छन्।
स्थानीयका अनुसार, मेयर सिंहको नेतृत्वमा विरगञ्ज विकास होइन, विज्ञापन मात्र भएको छ। समस्या थुप्रिँदै जाँदा पनि मेयर स्थलगत निरीक्षणमा नआएको र जनताको आवाज सुनिन नसकेको उनीहरूको भनाइ छ।
उनीहरू चेतावनी दिँदै भन्छन्, “जनताको दुःख हेरेर मुख मोर्ने मेयरलाई आगामी चुनावमा मतदाताले ठीकै जवाफ दिनेछन्।"