वीरगञ्ज । विरगञ्ज महानगरपालिका रानीघाटस्थित नयाँ बस्तीका स्थानीयबासीले मेयर राजेशमान सिंहप्रति तीव्र असन्तोष व्यक्त गर्दै समस्या समाधानभन्दा व्यक्तिगत छवि निर्माण र भोट बैंक कायम राख्नमै मात्र सक्रिय रहेको आरोप लगाएका छन्।
वर्षौंदेखि लगातार जटिल बनेको पानी निकासको समस्या आजसम्म पनि समाधान हुन नसक्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ। पानी जमेर बनेको हिलो खाल्डाखुल्डीले विद्यालय जाने बालबालिकासमेत जोखिममा परेको अभिभावकहरूको आक्रोश छ।
महानगरलाई बारम्बार आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि स्थानीय घरधुरीहरूले आफ्नै खर्चमा बाटो बनाउने काम सुरु गर्नुपरेको उनीहरूको गुनासो छ।
नयाँ बस्तीका बासिन्दाले मेयर सिंहलाई लक्षित गर्दै भनेका छन् “हामीले तिरेको कर कहाँ खर्च भयो? विद्यालय जान नसक्ने अवस्थामा पुग्दा पनि मेयर सिंहको नजर हामीतिर कहिल्यै पर्यो? यही हो सिंहको भव्य विरगञ्ज?”
स्थानीयका भनाइअनुसार, मेयर सिंह जनताको वास्तविक पीडा बुझ्नभन्दा आलिसान भवन, ठूला देखिने परियोजना व्यक्तिगत शोअपमै बढी मोहित छन्। विकासका आधारभूत आवश्यकताहरू सडक, पानी निकासजस्ता सेवाप्रति बेवास्ता गर्नुलाई उनीहरूले पूर्ण असक्षम नेतृत्वको परिचय बताएका छन्।
यति मात्र होइन, बारम्बार माग गर्दा पनि मेयर सिंहले स्थानीयलाई “बसाइँ सरेर आउँदा मात्रै बाटो बनाइदिन्छु” जस्ता अविवेकपूर्ण टिप्पणी गरेको आरोप पनि छ।
महानगरका धेरै वडामा गाडी गुड्नै नसक्ने कच्ची तथा जीर्ण सडकको अवस्था हेर्दा पनि मेयर सिंहले विरगञ्ज ‘विकसित’ भएको दाबी गर्नु वास्तविकता लुकाउने राजनीतिक प्रचार मात्रै भएको स्थानीयको तर्क छ।
स्थानीयबासीले आरोप लगाउँदै भने “मेयर सिंहको नेतृत्वमा विरगञ्ज विकास होइन, विज्ञापन मात्र भइरहेको छ। समस्या देखिँदैन, समाधानका लागि आउने आँट छैन; तर भाषण र प्रचार भने निरन्तर चलिरहेको छ।”
स्थानीय समस्याका बीच मेयर सिंह स्थलगत निरीक्षणमा समेत नआएको, जनताको गुनासो नसुनिएको र महानगरको बजेट कमिसनमुखी योजनाहरूमा मात्र केन्द्रित भइरहेको दाबी पनि उनीहरूले गरेका छन्।
अन्त्यमा स्थानीयबासीले कडा चेतावनी दिंदै भने “जनताको दुःख हेरेर मुख मोर्ने मेयरलाई आगामी निर्वाचनमा जनताले कडा जवाफ दिनेछन्।”