काठमाण्डौ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्नमा भाग लिने गरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिह्न कायम भएको आयोगले जनाएको छ । २०७९ सालको प्रतिनिधिसभा सदस्यको चुनावमा प्राप्त गरेको समानुपातिक मतका आधारमा आयोगले क्रमसङ्ख्या र चुनाव चिह्न प्रदान गरिएको जनाएको छ ।
अरुका हकमा दर्ताका आधारमा चिह्न प्रदान गरिएको छ । आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिह्न निर्धारण गरेको छ ।
त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घरलगायतका चुनाव चिन्ह रहेका छन् ।