सप्तरी । मधेश प्रदेशमा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । विगत चार वर्षको अवधिमा चार हजार पाँच सय ८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । त्यसमा पनि एक वर्ष यता मात्रै यस प्रदेशमा एक हजार दुई सय २२ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको र त्यसमा पनि महिलाको सङ्ख्या बढी देखिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरका प्रमुख बुद्धनारायणा सहनीले राजविराजमा आयोजित एक कार्यक्रममा प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार १८, २०७९/०८० मा एक हजार ६९, २०८०/०८१ मा एक हजार दुई सय ८०, २०८१/०८२ मा एक हजार दुई सय २२ गरी चार वर्षको अवधिमा चार हजार पाँच सय ८९ ज्यान गुमाएको बताउनुभयो ।
उहाँले आत्महत्याको घटनामा भइसकेपछि त्यो किन भएको हो ? घटना हुनु अधिको अवस्थाबारे अनुसन्धान नहुँदा पनि समाजमा यस्ता घटना बढेको तर्क गर्नुहुँदै यसप्रति बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आत्महत्याको दर बढ्ने क्रम जारी रहँदा सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् । आर्थिक समस्या देखी प्रेम सम्बन्ध, पारिवारीक कलह, बेरोजगारी, मानसिक तनाव, असफलता लगायतका विविध कारणले व्यक्ति आत्महत्याको बाटो रोज्ने गरेको चिकित्सक कालीप्रसाद यादवले बताउनुभयो ।
समाजिक, आर्थिक, पारिवारिक र मानसिक हिसाबले सम्पन्न र स्वस्थ नहुँदा पनि आत्महत्याका घटना बढ्ने गरेको उहाँको धारणा छ ।
समय मै परिवारका सदस्यले वा नजिकका साथी–भाईले त्यस्ता व्यक्तिको सङ्केत बुझेर गम्भीर पहल गर्ने हो भने यस्ता घटना टार्न सकिने महिला आयोगका सदस्य एवम् अधिकारकर्मी आभासेतु सिंहले बताउनुभयो ।
यसको न्यूनीकरणका लागी प्रहरी तथा सरोकारवालाहरुले समय समयमा सचेतना अभियान चलाउनुका साथै नयाँ सोच र नयाँ ढङ्गले अघि बढ्नुपर्ने मनोचिकित्सकहरुको सुझाव छ ।