वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विपी उद्यानबाट हटाएका तरकारी तथा फलफूल व्यवसायीहरूले महानगर–२ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा अवरोध गरेको किसानहरूले आरोप लगाएका छन्।
महानगरपालिकाले मङ्सिर २८ गते आइतबार बिहान एक्साभेटर प्रयोग गरी विपी उद्यानमा करिब डेढ दशकदेखि अस्थायी टहरा बनाएर सञ्चालन हुँदै आएका तरकारी तथा फलफूलका थोक तथा खुद्रा पसल हटाएको थियो। तर, हटाइएका व्यवसायीहरू महानगरले निर्माण गरेको नयाँ थोक बजारमा जान नमानेको र त्यहाँ कारोबार गर्न खोज्ने किसान तथा व्यापारीहरूलाई समेत अवरोध सिर्जना गरिरहेको किसानहरूको गुनासो छ।
किसानका अनुसार विपी उद्यानमा कारोबार गर्दै आएका केही व्यवसायीहरूले छिमेकी जिल्ला बारा तथा छिमेकी देश भारतबाट आउने तरकारी बोकेका व्यापारीहरूलाई छपकैयास्थित नयाँ बजारसम्म आउन नदिन दबाब दिइरहेका छन्। हरपुर, विश्रामपुर तथा भारतको सहदेवा महदेवाबाट तरकारी लिएर आउने किसान तथा व्यापारीलाई बिहानैदेखि रोकेर अन्यत्र नलैजान दबाब दिइएको उनीहरूको आरोप छ। यस अवरोधका कारण पछिल्ला तीन दिनदेखि वीरगञ्ज बजारमा तरकारी ल्याउन नसकेको किसानहरूले बताएका छन्।
किसानहरूले महानगरले तोकेको स्थानमा तरकारी बिक्री गर्दा दीर्घकालीन रूपमा समस्या नहुने बताएका छन्। “सुरुमा केही समय समस्या देखिए पनि पछि जहाँ बजार लाग्छ, किसान, व्यापारी र ग्राहक सबै त्यहीं पुग्छन्,” एक किसानले भने। सुरुमा विपी उद्यानको अवस्था पनि यस्तै रहेको र पछि बजार चम्किएपछि अहिलेका व्यवसायीहरू अन्यत्र जान नचाहेको उनीहरूको भनाइ छ।
हाल विपी उद्यान र छपकैयामा निर्माण गरिएको नयाँ बजार दुवै तीन दिनदेखि प्रायः सुनसान छन्। विपी उद्यानमा थोक बजार नहटेकाले खुद्रा खरिदका लागि व्यापारी र ग्राहकको चहलपहल घटेको छ। यद्यपि, खुद्रा व्यवसायीहरूले भने अझै पनि तरकारी, कपडा र खाजानास्ताको कारोबार सञ्चालन गरिरहेका छन्। कपडा बजारमा भीड देखिए पनि तरकारी बजारमा भने ग्राहक न्यून छन्। उता, छपकैयास्थित नयाँ बजारमा पनि केही व्यापारीले मात्र सटर लिएर बसेका छन्, तर ग्राहक नआएको गुनासो छ।
विपी उद्यानबाट थोक बजार हटेपछि त्यहाँबाट थोकमा तरकारी खरिद गरी अन्य बजारमा बिक्री गर्ने व्यापारीहरू अहिले जीतपुर र कलैयाबाट तरकारी ल्याउन बाध्य भएका छन्। वीरगञ्जमा तत्काल थोक तरकारी बजार नहुँदा र विपी उद्यानका व्यवसायीहरू आन्दोलनमा उत्रिएर पर्सा, बारा, मकवानपुर तथा भारतबाट आउने तरकारी रोकेपछि वीरगञ्जका विभिन्न बजारका थोक खरिदकर्ताहरू कलैया र जीतपुर धाउन थालेका छन्।
यसैबीच, विपी उद्यानबाट हटाइएका थोक तरकारी तथा फलफूल व्यवसायीहरूले पावरहाउस क्षेत्रमा नयाँ थोक बजार सञ्चालन गर्ने तयारी थालेका छन्। विपी उद्यान खाली गराएर महानगरले छपकैयामा सारिएपछि त्यसको विकल्पका रूपमा सञ्जय कलवारको हिरोहोन्डा मोटरसाइकल शोरूम रहेको खाली जग्गामा नयाँ बजार निर्माणको काम सुरु गरिएको छ। सो स्थानमा माटो खसालेर अस्थायी रूपमा बजार सञ्चालनको तयारी भइरहेको छ।
छपकैयास्थित बजार अपायक परेको दाबी गर्दै विस्थापित व्यवसायीहरू पावरहाउसमा बजार सञ्चालन गर्न लागेका हुन्। पावरहाउसमा बजार स्थापित नहुँदासम्म वीरगञ्जमा आउने तरकारी रोक्ने अभियानमा आफूहरू लागेको एक व्यवसायीले बताएका छन्।