वीरगञ्ज । न्याय, संविधान र मानव अधिकारको संरक्षणका पक्षमा नेपाल बार एसोसिएसनले सञ्चालन गर्दै आएको अभियानअन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई बजार क्षेत्र परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।
ब्यानर तथा हातमा प्लेकार्ड बोकेर निकालिएको प्रभातफेरीमा बिहान ७ बजेदेखि कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले न्यायको प्रत्याभूति, संविधानको रक्षा तथा मानव अधिकारको सम्मानसम्बन्धी सन्देश अंकित ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रमका क्रममा कानूनको शासनलाई सुदृढ बनाउँदै नागरिकका मौलिक अधिकारको संरक्षणमा बार संस्थाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइएको थियो।
आयोजक संस्थाका पदाधिकारीहरूले बार डे–२०८२ को अवसरमा आयोजित यस प्रकारका कार्यक्रमले समाजमा न्यायिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।