वीरगञ्ज । पूर्वमन्त्री तथा नेकपा एमाले पर्साका नेता राजकुमार गुप्ताले आफ्नो राजनीतिक पहिचान, विचार र प्रतिबद्धता नेकपा एमालेसँग अविचलित रूपमा जोडिएको स्पष्ट गर्नुभएको छ। विद्यार्थी जीवनदेखि नै नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका गुप्ताले पार्टीले दिएको अवसर र जिम्मेवारीलाई सदैव सम्मानका साथ निर्वाह गर्दै आएको बताउनुभएको छ।
पूर्वमन्त्री गुप्ताले विभिन्न जिम्मेवारीमा रहँदा जनसेवा, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यतालाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार नेकपा एमाले केवल एउटा राजनीतिक दल मात्र नभई राष्ट्रनिर्माण, सामाजिक न्याय र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेको जनआधारित शक्ति हो।


पार्टीभित्र र बाहिर फैलाइने भ्रम र कुप्रचारप्रति संकेत गर्दै उहाँले यस्ता प्रयासले आफ्नो राजनीतिक आस्था र निष्ठामा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो। तत्कालीन स्वार्थका लागि बाटो बदल्ने प्रवृत्तिको आलोचना गर्दै उहाँले नेकपा एमालेप्रतिको समर्पण दीर्घकालीन र सिद्धान्तमा आधारित रहेको धारणा राख्नुभयो।
पूर्वमन्त्री गुप्ताले पर्सा जिल्लामा नेकपा एमालेको ऐतिहासिक भूमिका र जनविश्वास सधैं मजबुत रहेको उल्लेख गर्दै पार्टी अझ सशक्त, संगठित र जनमुखी हुँदै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। केही व्यक्तिको आगमन वा बहिर्गमनले पार्टीको मार्ग र उद्देश्यमा कुनै प्रभाव नपर्ने उहाँको भनाइ छ।
अन्त्यमा उहाँले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धैर्य, एकता र विश्वासका साथ अघि बढ्न आग्रह गर्दै नेकपा एमाले जनताको भरोसाको पार्टीका रूपमा निरन्तर मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ।