बंगलादेशको विद्यार्थीको विद्रोहका कारण शेख हसिनाले देश छाड्दा भविष्यमा सुव्यवस्था आउने आशा जगाउन खोजिएको थियो। संसारभर बंगलादेशको विद्यार्थी विद्रोहलाई परिवर्तनका पक्षमा भएको आन्दोलनका रूपमा चित्रित गर्नेगरी सामग्री फैलाइयो। विद्यार्थीको विद्रोह, लामो समय सत्तामा रहेकी प्रधानमन्त्री हसिना देश छाड्न बाध्य अनि युरोपमा निर्वासित अवस्थामा रहेका नोबल पुरस्कार विजेता मोहम्मद युनुश सरकार प्रमुख बनेको घटना थियो, २०२४ जुलाई। त्यो विद्रोहले हसिनालाई मात्र देश छाड्न वाध्य पारेन, पूर्वप्रधानन्यायाधीश खैरुल हकलाई समेत पक्राउ गरी जेल हाल्ने परिस्थिति बनायो। लामो समय सत्तामा बसेकाहरू जेल हालिए। योसँगै भ्रष्टाचार नामेट हुने सपना बाँडियो।
चुनाव गर्ने म्यान्डेटका साथ बनेको युनुश सरकार बर्खास्त गरिएकी हसिनाको दल अवामी लिगप्रति कठोर बन्यो। राजपत्रमै प्रकाशित गर्ने गरी अवामी लिगका राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगायो। भारतमा निर्वासित उनलाई मृत्युदण्डको सजाय सुनाएपछि त्यसलाई लागू गर्न सुपुर्दुगीका लागि भारतमाथि नै दबाब बढाउन थाल्यो। रोचक त यो छ कि युनुश सरकारले हसिनाको पालामा प्रतिबन्ध लगाइएको जमाते इस्लामी र त्यसको भ्रातृ संगठन इस्लामी छात्र शिविर जस्ता चरमपन्थी मुसलमान समूहको प्रतिबन्ध खुला गरिदियो। यो समूह पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रताको विरोधी थियो। युनुशले त्यस्ता समूहको सहारा लिन थाले। चरमपन्थी समूहहरूले बंगलादेशको हिन्दुलगायत अल्पसंख्यकमाथि अत्याचार गर्दै आएका थिए। यतिसम्मकी त्यसको विरोधमा लज्जा कृति लेख्ने तसलिमा नसरिनको समेत टाउकाको मूल्य तोकेका थिए। उनी भारतमा निर्वासित छन् अहिले।
एकातर्फ, युनुशको उदय तानाशाह भनिएकी हसिनाको विरुद्ध थियो। अर्कोतर्फ, उनै युनुश चरमपन्थीको पक्षमा एकपछि अर्को निर्णय गर्दै गए। बंगलादेशमा २०२४ को जुलाईमा भएको विद्यार्थी विद्रोहमा हसिनाको दलका नेता कार्यकर्ता र तिनका घर कार्यालयमा आक्रमण भएकै थियो। हिन्दुलगायत अल्पसंख्यकमाथि पनि आक्रमण भएको थियो। त्यो क्रम रोकिएन। हिन्दुहरू आक्रमणको तारोमा परिरहे। विरोधका आवाज उठिरह्यो। पछिल्लोपटक भड्किएको हिंसाका दौरान दीप दास नामका २७ वर्षीय हिन्दु युवाको कुटी कुटी रुखमा बाँधेर जलाएर हत्या गरियो।
विद्यार्थी विद्रोहबाट जन्मिएको दल नेस्नल सिटिजन पार्टीका नेता सरिफ होसमान हदीमाथि गोली प्रहार भयो। त्यसपछि उपचारका क्रममा सिंगापुरमा निधनपछि भड्किएको हिंसाको तारोमा हिन्दु अल्पंख्यक परे। यो घटनाले बंगलादेश हिन्दुलगायत अल्पसंख्यकका लागि निकै असुरक्षित भएको सन्देश गइसकेको छ। जसरी पाकिस्तानमा हिन्दुलगायत अल्पसंख्यकहरू असुरक्षित भई पलायन या धर्मान्तरणका लागि बाध्य भए बंगलादेश त्यही मार्गतर्फ बढिरहेको छ अहिले। मुस्लिम बाहुल्य भए पनि पाकिस्तानभन्दा बंगलादेशभन्दा बिल्कुल फरक थियो। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि चरमपन्थीहरू कुनै पनि आवरणमा सत्तामा हालीमुहाली हुन पाएका थिएनन्। बंगलादेशले आर्थिक विकासलाई निकै प्राथमिकतामा राखेर काम गरेको थियो। विश्वको सबैभन्दा बढी जनघनत्व भएको देशमध्येको भइकन उसले झन्डै १७ करोड माथिको जनसंख्यालाई धानेको थियो। गार्मेन्ट र टेक्सटायल उद्दोग फस्टाएको थियो। ऊर्जाको संकट टार्न नेपालसम्म विद्युत् व्यापार सम्झौता गरेको थियो। भारतका अडानी र अम्बानीजस्ता अर्बपतिले ऊर्जामा लगानीको हात बढाइसकेका थिए।
चीनको सहयोगमा पद्मा पुल निर्माण भई ढाकाबाट खुलनासम्मको यात्रा १३ घण्टाबाट घटेर ३ घण्टामा झर्दा बंगलादेशको अर्थतन्त्रमा ठूलै असर परिसकेको थियो। यी सबै हसिना प्रधानमन्त्री हुँदा भएका थिए। बंगलादेश दोहोरो अंकको आर्थिक वृद्धितर्फ बढ्दै थियो। ती सबै विद्यार्थी विद्रोहको घटनासँगै रोकिएनन् मात्र आरालो लागेका छन् अहिले। बंगलादेश ४ प्रतिशतको आर्थिक वृद्धिमा झरेको छ। पूर्वाधारको विकास र आर्थिक प्रगति जतिसुकै ह्वात्तै बढे पनि देशभित्रको सामाजिक अवस्थाको व्यवस्थापन सही भएन भने देश अर्को हिंसाको दलदलमा भासिन्छ भन्ने उदाहरण बनेको छ बंगलादेश।
चुनावको मुखमा बंगलादेशमा अर्को हिंसा भड्किएको छ। यसले उसलाई दुर्घटनाको अर्को डिलमा धकेलेको छ। हिन्दुसहित उसको दुई करोड अल्पसंख्यक जनसंख्याले सुरक्षा खतरा देखेका छन्। उनीहरू बंगलादेशबाट पलायनको बाटो रोजिरहेका छन्। बंगलादेशमा हरेक दिन ६ सय ३२ जना अल्पसंख्यक हिन्दु र आदिवासीले देश छाडिरहेको ढाका विश्वविद्यालयका प्राध्यापक डा. अबुल बर्कतको अध्ययनले देखाएको छ। उनले सन् २०४५ सम्म बंगलादेशमा हिन्दुको संख्या शून्य हुनेसमेत प्रक्षेपण गरेका थिए। चरमपन्थीहरूले अर्को धर्म र समुदायलाई निमिट्यान्न पार्ने योजनाका साथ जुन अतिवादी गतिविधि चलाएका छन्, त्यसले परिस्थिति हिन्दुरहित बंगलादेश बनाउँदैछ।
अध्ययनले देखाएजस्तै बंगलादेशमा हिन्दुहरूले निरन्तर देश छाडिरहेका छन्। जसले देश छाड्न सकेका छैनन् उनीहरूलाई धर्मान्तरणका लागि बाध्य बनाइएको छ। अल्पंख्यक हिन्दु आक्रमणको तारोमा परेका छन्। उनीहरूका चेलीहरू अपहरणमा पर्ने, बलात्कृत हुने घटना बढेको छ। तसलिमा नसरिनले त लज्जा उपन्यासमा हिन्दुमाथिको बर्बरताको यथार्थ चित्रण गरेकी छन्।
महानाम भट्टाचार्य मिथुनले २०१९ मा बंगलादेशका हिन्दु अल्पसंख्यक भारततर्फ पलायन हुनुको कारणबारे इन्टरनेसनल जर्नल अन माइनोरिटी एन्ड ग्रुपमा लेख प्रकाशित गरेका छन्। उनले हिन्दुहरू पलायन हुनुमा असुरक्षा, राज्यबाट संरक्षण नहुनु, सरकारी निकायको भेदभावपूर्ण व्यवहारदेखि राज्यको कठोर नीति उल्लेख गरेका छन्। बाध्यात्मक बसाइँसराइ निरन्तर रहेको पनि उल्लेख गरेका छन्। सन् २००१ देखि २०११ बीच बंगलादेशमा ९ लाख हिन्दुको संख्या घटेको तथ्यांक छ। १५ वर्षअघि नै बंगलादेशको १५ वटा जिल्लामा हिन्दु जनसंख्या नै नामेट भइसकेको छ। उनीहरू आफ्नो थालथलो छाड्न बाध्य पारिए।
बंगलादेशमा सन् २००१ मा हिन्दु जनसंख्या १ करोड ६८ लाख थियो। त्यो संख्या घटेर २०११ मा १ करोड २३ लाख पुग्यो। सन् १९०१ मा बंगलादेशमा हिन्दु जनसंख्या ३३ प्रतिशत थियो। त्यो संख्या घटेर सन् २०२२ मा ७.९५ प्रतिशत पुगेको छ। यो अझै घट्ने क्रममा छ। महत्त्वपूर्ण राजनीतिक घटनाहरू हुँदा बंगलादेशमा हिन्दुहरू तारोमा पर्दै आएका छन्। यसले पनि उनीहरू भाग्ने कि धर्मान्तरण गर्ने बाध्यतामा पुगेका हुन्। अध्ययनहरूले २०५० मा बंगलादेश पूर्णरूपमा हिन्दु शून्य भएको अवस्थामा पुग्ने देखाइसकेको छ। अफगानिस्तानमा जुन गतिमा हिन्दु बौद्ध जनसंख्या घटे त्योभन्दा द्रुत गतिमा बंगलादेशमा घटिरहेका छन्। नरमपन्थीहरू कमजोर बनाइएका छन्। चरमपन्थीहरू सत्तामा हाबी भएका छन्। यही मौकामा हिन्दुसहितका अल्पसंख्यक तारोमा पारिएका छन्।
बंगलादेश स्वतन्त्र बनाउने नेता शेख मुजिबर रहमानको सालिकदेखि स्मृति भवनहरू आक्रमणको तारोमा पर्दै आएका छन्। सन् २०२४ को विद्यार्थी विद्रोहमा उनको सालिक सबैजसो तोडिए। पछिल्लो हिंसामा फेरि उनको घर तारोमा परेको छ। राज्यका धरोहरहरू ध्वस्त पारिएका छन्। आर्थिक वृद्धि र भौतिक विकासमा उचाइ लिँदै गरेको बंगलादेश सामाजिक अव्यवस्था बल्झँदै आएको राजनीतिक अस्थिरता र अराजकताको दलदलमा भासिएको छ। कस्तो थियो बंगलादेश कस्तो भयो अहिले। बंगलादेश चरमपन्थीको हातमा पुगेको छ। यसले बंगलादेशलाई त दुर्घटनातर्फ धकेलिसकेको छ। सिंगो दक्षिण एसियामा अशान्ति, अराजकता र अस्थिरताको खतरा बढाएको छ। परिवर्तन आउँदैमा देशमा उज्यालो आइहाल्दैन। त्यसको व्यवस्थापन हुन नसके झन् अन्धकारतर्फ धकेलिन्छ भन्ने उदाहरण बनेको छ बंगलादेश।