सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि काँचको गिलास प्रहार गरेको घटना सार्वजनिक भएको छ।
स्रोतका अनुसार सोमबार गाउँपालिका कार्यालयमा भएको छलफलका क्रममा अध्यक्ष बिसी र प्रमुख प्रशासकीय अधिकृत घर्तीबीच विवाद हुँदा गिलास प्रहार भएको हो। घटना अध्यक्षकै कार्यकक्षमा भएको बताइएको छ।
घटनापछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भइरहेको छ। यद्यपि अध्यक्ष बिसीले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्। उनीसँग सम्पर्क गर्ने प्रयास सफल नभएको बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत घर्तीले भने सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे जानकारी गराएका छन्। उनले कार्यालयको कामका विषयमा सवाल–जवाफ भइरहेका बेला अध्यक्षले काँचको गिलास टेबलमा प्रहार गर्दा फुटेका टुक्राले आफूलाई चोट लागेको बताएका छन्।
घर्तीले घटनाबारे दैलेखका प्रमुख जिल्ला अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिवलाई जानकारी गराएको पनि उल्लेख गरेका छन्। साथै, घटनापछि आफूले असुरक्षित महसुस गरिरहेको बताएका छन्।
स्रोतका अनुसार घर्तीले गाउँपालिकामा अनावश्यक चालु खर्च नियन्त्रण गर्न खोजेका थिए। इन्धन खर्च, होटलमा कार्यक्रम आयोजना गर्ने प्रवृत्ति तथा बजेट खर्च प्रक्रियागत रूपमा गर्नुपर्ने विषयमा उनले कडाइ गरेका कारण अध्यक्ष बिसी असन्तुष्ट रहेको बताइएको छ।
गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विगतदेखि नै विभिन्न विषयमा विवाद हुने गरेको बताए। उनका अनुसार विकास आयोजना कार्यान्वयन, निर्णय कार्यान्वयन तथा ऐन–नियम सम्बन्धी विषयमा समय–समयमा मतभेद हुँदै आएको थियो।
उनले घटनाको दिन दुवै पक्ष आवेगमा आएको हुन सक्ने बताए पनि विस्तृत टिप्पणी गर्न अस्वीकार गरेका छन्।