वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन गरिएको निःशुल्क जलन उपचार शिविरबाट १५० जना बिरामीले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्। शिविर वैशाख १७ देखि २० गतेसम्म सञ्चालन गरिएको थियो।
नारायणी अस्पताल र नबिल बैंकको संयुक्त पहलमा तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा विभिन्न जिल्लाबाट आएका जलन पीडितहरूलाई विशेषज्ञ चिकित्सकद्वारा उपचार प्रदान गरिएको हो। शिविरका क्रममा ४६ जना बिरामीको शल्यक्रिया गरिएको थियो भने गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रिफर गरिएको जनाइएको छ।
शिविरअघि मधेश प्रदेशका ६ जिल्लाका २७ पालिकामा स्क्रिनिङ अभियान सञ्चालन गरी बिरामीहरूको पहिचान गरिएको थियो। फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले स्थानीय तहसम्म पुगेर प्रारम्भिक परीक्षण तथा विवरण संकलन गरेका थिए।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम तथा सेवा पहुँच कम भएका क्षेत्रमा रहेका जलन पीडितहरूलाई लक्षित गरी यस्तो शिविर सञ्चालन गर्दै आएको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार, देशका विभिन्न भागमा अझै पनि जलनका बिरामीले समयमै उचित उपचार नपाउने समस्या विद्यमान रहेको छ।
शिविरमा संलग्न वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई नेतृत्वको चिकित्सक टोलीले अपेक्षाभन्दा बढी सेवा प्रदान गर्न सफल भएको प्रतिक्रिया दिएको छ। साथै, भविष्यमा यस्ता सेवा स्थानीय स्तरमै निरन्तर रूपमा उपलब्ध गराउने लक्ष्य रहेको उनीहरूको भनाइ छ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले शिविरबाट दीर्घकालीन रूपमा पीडितहरूको जीवनस्तर सुधार हुने विश्वास व्यक्त गरे।
यसअघि पनि नबिल बैंकले सुदूरपश्चिम र कर्णाली प्रदेशमा यस्तै प्रकृतिका शिविर सञ्चालन गरिसकेको छ। आगामी वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा समेत यस्तै शिविर आयोजना गर्ने तयारी रहेको जनाइएको छ।
नबिल बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा तथा उद्यमशीलता प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ।