जलेश्वर ।विपत् व्यवस्थापन समिति महोत्तरीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।
बुधबार प्रजिअ यादवले १० नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बोलाई आकस्मिक बैठक बसेर सर्वसाधारणलाई बढ्दो शीतलहर र चिसोबाट जोगाउन तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी यादवले स्थानीय सरकार सर्वसाधारणको सबैभन्दा बढी पहुँच भएको सरकारको पहिलो निकाय भएकाले उनीहरूको जिउज्यानको सुरक्षाका लागि अहिलेसम्म गरेको तयारी सन्दर्भमा जानकारी लिनुका साथै दातृ निकायलाई पनि शीतलहर र चिसोबाट जोगाउन तयार रहन निर्देशन दिनुभएको हो ।
जिल्ला वन कार्यालय महोत्तरीमा दाउराको मौज्दात पर्याप्त रहेकाले स्थानीय तहले आवश्यकता अनुसार वन कार्यालयबाट तोकेको दररेट अनुसार रकम तिरी तत्काल जिल्लाभरि नै आगो ताप्ने व्यवस्था मिलाउन आग्रहसमेत गर्नुभएको छ ।
यसका साथै वडाध्यक्षका माध्यमबाट वास्तविक पीडितको एकिन गरी सहयोगको व्यवस्था मिलाउन पनि बैठकमा निर्देशन दिइएको थियो । अहिले वितरणमुखी कार्यव्रmम गर्न सरकारले रोक लगाए पनि एक सातादेखि चिसो ह्वात्तै बढेकाले राहतस्वरूप कम्बल, न्यानो कपडा र आगो ताप्ने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो । यसका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि चिसोबाट सर्वसाधारणलाई जोगाउन आआफ्ना स्तरबाट पहल गर्न निर्देशन दिइएको हो ।
साथै महोत्तरीलगायत तराई मधेशमा अहिले बाक्लो हुस्सुका कारण सवारी दुर्घटना हुन सक्ने अवस्थाको आकलन गरी तत्काललाई ट्राफिक प्रहरीसँग समन्वय गरी सडकमा हुस्सुमा पनि बाटो देखिने गरी सङ्केत, रिफ्लेक्टर लाइट र स्टिकरको व्यवस्था मिलाउन स्थानीय निकायलाई सहयोग गर्न भनिएको छ ।
साथै चिसोका कारण सर्वसाधारण बिरामी पर्ने भएकाले तत्काल औषधी उपचारका लागि स्वास्थ्य चौकीदेखि अस्पतालसम्म तदारुकताका साथ काम गर्न÷गराउन व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ । प्रत्येक वर्ष चिसोको मौसममा महोत्तरीमा सर्वसाधारणको मृत्यु हुँदै आएकाले यस वर्ष सर्वसाधारणको ज्यानै जाने अवस्था आउन नदिन गम्भीरताका साथ काम गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।
बोदेबरसाइनका विद्यालय पाँच दिन बन्द
यसैबिच अत्यधिक चिसो बढेपछि सप्तरीको बोदेबरसाइन नगरपालिकाले विद्यालयमा पाँच दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले बुधबारदेखि आइतबारसम्म नगरभित्र रहेका सबै विद्यालय बन्द गरेको जनाएको छ । शीतलहरका कारण बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भई बालबालिकालाई विद्यालय आउन÷जान असहज हुने भएकाले पाँच दिनका लागि विद्यालय बन्द गरिएको नगरप्रमुख आतेशसिंह यादवले बताउनुभयो । बिहानबेलुका हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशुचौपायासमेत प्रभावित भएका छन् ।
जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीका अनुसार अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिकाले शुव्रmबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै शुव्रmबार उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन बिदा दिने निर्णय गरेको हो ।
उक्त बिदा यसै शैक्षिक सत्रको स्वीकृत शैक्षिक क्यालेन्डरमा उल्लिखित यही पुस १७ देखि आगामी माघ २ गतेसम्मको जाडो बिदाबाट कट्टा हुने गरी व्यवस्था मिलाइने उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ । मौसममा सुधार नआएमा जाडो बिदा थप गरिने र यससम्बन्धी थप सूचना सार्वजनिक गरिने शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेले जानकारी दिनुभयो ।