काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारबीच आज भेटवार्ता भएको छ । भेटपछि सभापति सुनारले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त भेटवार्ताबारे जानकारी गराएका छन् ।
सुनारले नेपाल प्रेससँग कुरा गर्दै आफुसँग भएको संवाद उल्लेख गर्दै बालेनले आफूलाई खुला राजनीतिमा आउने सन्दर्भमा जिज्ञासा व्यक्त गरेको बताएका छन् । सुनारका अनुसार बालेनले भेटका क्रममा, “म पनि खुला राजनीतिमा आउने भए के गरौँ ?” भन्ने प्रश्न राखेका थिए ।
यसको जवाफमा आफूले परम्परागत दलको आलोचना गर्दै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औँल्याएको सुनारले बताएका छन् । उनले कांग्रेस र एमालेबीचको सहकार्यको चर्चा चलिरहेको सन्दर्भ जोड्दै, “गनाउने कांग्रेस एमाले त मिल्नुपर्छ भन्दै छन् भने, बनाउने हामी मिल्नुको विकल्प छैन ” भन्ने धारणा राखेको बताए ।
सुनारले फेसबुक स्टाटसमा ‘देश पहिला’ भन्ने नारालाई केन्द्रमा राख्दै देश र जनताको हितलाई सर्वोपरि राख्ने राजनीति आवश्यक रहेको बताएका छन् । “देश पहिला, देशपछि अरू‘ त्यसपछि अरू,” भन्दै उनले आगामी दिनमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत पनि गरेका छन् ।
भेटवार्ताबारे बालेन साहको तर्फबाट भने औपचारिक प्रतिक्रिया आएको छैन । तर, काठमाडौँ महानगरमा निर्वाचित भएपछि बालेनले परम्परागत दलप्रति आलोचनात्मक धारणा राख्दै आएका छन् ।