काठमाडौं । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी समानुपातिकको बन्दसूचीको गृहकार्यमा जुटेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, रास्वपा सभापति रवि लामिछानेसँग निरन्तर संवादमा रहेका कुलमानको जिम्मेवारी बाँडफाँटमा कुरा नमिलेपछि उनेपाले एक्लै समानुपातिक सूची पेश गर्न लागेको हो ।
उनेपाका एक नेताका अनुसार करिब साढे ३ सय जनाबाट अहिले आयोगमा पेश गर्ने सूची सर्टलिस्टको काम भइरहेको छ ।
एकताका लागि आफूहरू लचिलो हुँदाहुँदै रास्वपा सभापति रवि लामिछानेले एकपछि अर्को अड्को थाप्ने र हेपाहा प्रवृत्ति देखाएको ती नेताले दाबी गरे ।
‘हाम्रो अस्तित्व नै स्वीकार नगर्ने गरी । वैकल्पिक शक्तिलाई सिंगो गर्न नदिनेमा रवि नै लागे । भ्याल्यु लेस एकता कसरी गर्ने ? अब हामी आफ्नै ढंगबाट लाग्छौँ । समानुपातिक सूची बुझाएर देशव्यापी चुनावी अभियानमा जान्छौँ’, कुलमान निकटका एक नेताले नेपाल प्रेससँग भने ।
३ दिनअघि जिम्मेवारी बाँडफाँटमा ३० प्रतिशत हिस्सा दिन तयार भएका रवि २०, १० हुँदै आज ५ प्रतिशतमा झरेको उनेपाका नेता बताउँछन् ।
‘हामीले संघीयताबारे पनि अहिलेकै संरचना रहनुपर्ने कुरा राख्यौं । तर, उहाँहरूका केही रिजर्भेसन रहे । भू-राजनीतिक खेलबाट समेत एकता भाँड्ने प्रयास भयो’, स्रोतको जिकिर छ ।
पार्टीका नेता अब संघीयता र परिवर्तनका पक्षधरसँग निरन्तर संवाद रहेको भन्दै राजनीतिक आवश्यकताको आधारमा एकता र सहकार्य गर्दै जाने बताउँछन् ।
आइतबार बिहान रास्वपा र बालेनबीच ७ बुँदे सहमतिसहित एकता हुँदै गर्दा कुलमान छुटेका थिए । उनलाई पनि सँगै ल्याउन बालेनको जोड रहेको बताइन्छ ।
कुलमानले निशर्तरूपमा रास्वपामा विलय नहुने अडान राखेका थिए । उनले शनिबार साँझको केन्द्रीय समिति बैठकमा आत्मसम्मान गुमाएर एकता नगर्ने ब्रिफिङ गरेका थिए ।
कुलमान निकट स्रोत भन्छ, ‘सम्मानजनक एकता गर्ने नियत नै देखिएन । बालेनले पनि केवल तपाईं पनि आउनुस् भन्नुभयो, तर ठोस प्रस्ताव केही थिएन ।’
कुलमानले भने भावी प्रधानमन्त्रीमा आलोपालोको प्रस्ताव बालेनसँग राखेका थिए । तर, जेन-जी आन्दोलनको म्यान्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने रहेको बालेनको तर्क थियो ।
कुलमानले यसअघि रास्वपामा आफ्नो ओहदा र पार्टीको हिस्सेदारीको शर्त अघि सारेका थिए । पार्टीको नाम रास्वपा स्वीकार गरिसकेपछि कम्तीमा चुनाव चिन्ह उज्यालो नेपालको ‘चिम’ हुनुपर्ने उनको अडान थियो । रास्वपा यसमा सहमत भएन । केन्द्रीय समिति, पदाधिकारी र उम्मेदवारीमा निश्चित प्रतिशत हिस्सा उज्यालो नेपालले पाउनुपर्ने मागलाई पनि रविले अस्वीकार गरे ।
कुलमानले महत्वाकांक्षी माग राखेको रास्वपाका नेताको दाबी छ ।
एक पदाधिकारीले भने, ‘उहाँले आफूलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नुपर्नेदेखि लिएर पार्टीको बागडोरसमेत आफूले पाउनुपर्ने डिमान्ड गर्नुभएको थियो । त्यसपछि वार्ता नै अघि बढेन ।’