पर्सा । नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीको पाँचौँ बैठक विभिन्न संगठनात्मक निर्णय गर्दै सम्पन्न भएको छ। गाउँपालिका कमिटीका अध्यक्ष गम्भिरा साहको अध्यक्षता तथा पूर्वमन्त्री राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले कमिटीका रिक्त पदमा पदपूर्ति गर्नुका साथै कमिटीको खाता सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने उद्देश्यसहित संगठनात्मक गतिविधिलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा छलफल गरेको थियो। रिक्त पदमा पदपूर्ति गर्ने निर्णयसँगै कमिटीको कार्यसम्पादनलाई थप चुस्त बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वमन्त्री राजकुमार गुप्ताले पार्टी संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतामाझ पुर्याउँदै जनताको समस्या समाधानका लागि जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। संगठनको सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, गाउँपालिका कमिटीका अध्यक्ष गम्भिरा साहले कमिटीलाई सक्रिय र व्यवस्थित बनाउँदै पार्टीका गतिविधिलाई गाउँपालिकाका सबै वडासम्म प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै नेता तथा कार्यकर्तालाई आपसी एकता कायम राख्दै संगठन निर्माण र जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
बैठकमा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य शिव पटेलले पार्टीको संगठनात्मक एकता, अनुशासन र सामूहिक जिम्मेवारीलाई महत्त्व दिनुपर्ने बताए। उनले पार्टीलाई जनतामाझ थप लोकप्रिय बनाउन नेता तथा कार्यकर्ताले जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरे।
बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण कुशवाहा, उत्तम तिवारी, कालु दादा, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरण कुर्मीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
बैठकले गरेका निर्णय कार्यान्वयन गर्दै संगठनलाई थप गतिशील बनाउने र पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको जनाइएको छ।