वीरगञ्ज । पर्सा जिल्लामा राज यादवविरुद्ध कुटपिट, धम्की तथा मानसिक यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएको छ।
वीरगञ्ज महानगरपालिका–१० निवासी २४ वर्षीया श्वेता पटेलले दिएको उजुरीअनुसार २०८२ साल पौष १२ गते राति करिब ९:४० बजेको समयमा आरोपित राज यादव तथा उनका साथीसँग विवाद हुँदा आफूलाई गालीगलौज गर्दै कुटपिट गरिएको थियो। उजुरीमा उल्लेख भएअनुसार मोबाइल खोस्ने प्रयास गर्नुका साथै धारिलो तथा भौतिक वस्तु प्रयोग गरी हात, खुट्टा, ढाड, टाउको र अनुहारमा चोट पुर्याइएको थियो।
पीडित श्वेता पटेलले सामाजिक सञ्जालमार्फत बदनाम गर्ने, ज्यान मार्ने धम्की दिने तथा निरन्तर मानसिक दबाब दिएको आरोप पनि लगाएकी छन्। कुटपिटबाट घाइते भएकी उनलाई तत्काल नारायणी अस्पताल, वीरगञ्जमा उपचार गराइएको जनाइएको छ।
उजुरीमा वीरगञ्ज महानगरपालिका–१६ निवासी राज यादवको संलग्नता रहेको दाबी गरिएको छ। पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा उपचार खर्च र क्षतिपूर्तिको माग गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी दर्ता भइसकेको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। अनुसन्धानपछि वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।
