पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव खल्बल्याउने, धार्मिक–सांस्कृतिक भावना आहत पार्ने तथा राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधिमाथि कडा निगरानी गरिरहेको जनाएको छ। कार्यालयले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा फैलाइने घृणात्मक अभिव्यक्ति, दुष्प्रचार र आपत्तिजनक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको स्पष्ट गरेको छ।
प्रशासनका अनुसार कुनै पनि जाति, जातीय समूह, धर्म वा सम्प्रदायविरुद्ध घृणा फैलाउने, धार्मिक स्थल वा पवित्र मान्यताप्रति अपमानजनक कार्य गर्ने, तथा सामाजिक सद्भाव बिगार्ने उद्देश्यले सामग्री प्रकाशन वा प्रदर्शन गर्ने कार्य कानुनविपरीत हो। यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सूचनामा मुलुकी अपराध संहिता, २०७४ को धर्मसम्बन्धी कसुरसम्बन्धी व्यवस्था उल्लेख गर्दै धार्मिक स्थल वा पवित्र स्थानमा क्षति पुर्याउने, धार्मिक आस्था अपमान गर्ने वा धार्मिक भावनामा आघात पुर्याउने कार्य गरेमा कैद र जरिवानाको सजाय हुन सक्ने उल्लेख छ। साथै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत विद्युतीय माध्यममार्फत गैरकानुनी सामग्री प्रकाशन, घृणात्मक अभिव्यक्ति फैलाउने वा सामाजिक सद्भाव बिगार्ने कार्यमा संलग्न भएमा पनि कडा सजायको प्रावधान रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई संयमित र जिम्मेवार भई सामाजिक सञ्जाल प्रयोग गर्न, आपत्तिजनक गतिविधिमा संलग्न नहुन र शान्ति, सद्भाव तथा सहअस्तित्व कायम राख्न सहकार्य गर्न आग्रह गरेको छ। साथै कानुन उल्लङ्घन हुने कुनै पनि गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।
