पर्सा । वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पुनः शीतलहर सक्रिय भएपछि सर्वसाधारणको दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ । केही दिनअघि दिउँसो घाम लागेर मौसममा केही सुधार देखिए पनि पछिल्ला दुई दिनदेखि लगातार चलेको शीतलहर, चिसो सिरेटो तथा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको हो ।
शीतलहरको प्रभाव सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी तथा आर्थिक रूपमा विपन्न वर्गका नागरिकमा परेको छ । अत्यधिक चिसोका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका मजदुर वर्ग काममा निस्कन नसक्दा उनीहरूको दैनिकी थप कठिन बनेको छ । चिसो मौसमले श्रम बजारसमेत प्रभावित बनाएको स्थानीयवासी बताउँछन् ।
विद्यालय जानुपर्ने बालबालिका, सरकारी तथा निजी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र सेवाप्रवाहमा खटिएका कर्मचारीहरूलाई समेत चिसो, शीतलहर र हुस्सुका कारण विभिन्न समस्या उत्पन्न भएको छ । बिहान र बेलुकी बाक्लो कुहिरो लाग्दा मधेश प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित हुनुका साथै दृश्यता कम हुँदा हवाइ सेवामा समेत अवरोध सिर्जना भइरहेको छ ।
चिकित्सकहरूले यस्तो प्रतिकूल मौसममा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, न्यानो कपडा तथा टोपी, मोजा प्रयोग गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न सुझाव दिएका छन् । जाडोबाट बच्न झोलिलो तथा तातो खानेकुरा जस्तै दाल, सूप, खिचडी, तातो दूध, अदुवा–तुलसी वा बेसार मिसिएको चिया सेवन गर्न तथा मनतातो पानी मात्र पिउन चिकित्सकको सल्लाह छ । चिसो बढाउने गतिविधि र मदिरा सेवनबाट टाढा रहन समेत आग्रह गरिएको छ ।
शीतलहर र चिसो सिरेटोले मानिसको स्वास्थ्यमा मात्र नभई पशु चौपाया, पशुपन्छी, कृषि बालीनाली र बोटबिरुवामा समेत नकारात्मक असर पुर्याएको छ । चिसोका कारण पशुपालन र कृषि उत्पादनमा क्षति बढ्न सक्ने भन्दै कृषकहरू चिन्तित बनेका छन् ।
मौसम अझै केही दिनसम्म यस्तै रहने अनुमान गरिएकाले स्थानीय प्रशासन, स्वास्थ्य निकाय र सरोकारवाला निकायले आवश्यक सतर्कता अपनाउन तथा सर्वसाधारणलाई सजग रहन आग्रह गरेका छन् ।