पर्सा । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सन्तुलन र संगठन मजबुतीलाई केन्द्रमा राखेर उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ। यस क्रममा पूर्व मन्त्री तथा निवर्तमान सांसद राजकुमार गुप्तासहित केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा र पूर्व केन्द्रीय सदस्य अरविन्द सिंहको नाम सिफारिस गरिएको हो।
यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भइसकेका गुप्ता मधेस राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ। संसदीय अभ्यास, सरकार सञ्चालनको अनुभव र पार्टी संगठन निर्माणमा उहाँको योगदानलाई मध्यनजर गर्दै एमालेले पर्सा–२ मा गुप्तालाई बलियो राजनीतिक विकल्पका रूपमा अघि सारेको विश्लेषण गरिएको छ।
राजनीतिक रूपमा पर्सा–२ प्रतिस्पर्धात्मक क्षेत्र मानिँदै आएको छ। यहाँ विभिन्न दलबीच कडा टक्कर हुने सम्भावनालाई ध्यानमा राख्दै एमालेले अनुभवी, जनआधार भएका र चुनाव जित्ने क्षमता राख्ने उम्मेदवारलाई प्राथमिकतामा राखेको देखिन्छ। गुप्ताको उम्मेदवारीले मधेसमा एमालेको राजनीतिक उपस्थिति बलियो बनाउने तथा मतदाता समेट्न मद्दत पुग्ने पार्टी नेताहरूको विश्वास छ।
पार्टीभित्र आन्तरिक एकता कायम गर्दै गठबन्धन राजनीतिलाई चुनौती दिन सक्ने नेतृत्वको रूपमा गुप्तालाई हेरिएको छ। विकास, सुशासन र राष्ट्रिय राजनीतिमा मधेसको मुद्दालाई सशक्त रूपमा उठाउने एजेन्डासहित उहाँको भूमिका आगामी निर्वाचनमा निर्णायक हुने आँकलन गरिएको छ।