वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्ला कमिटीका उपाध्यक्ष मनोज गुप्ताले पार्टी विस्तार र विजयका लागि व्यवहार, सोच र संगठनात्मक संस्कृतिमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपाध्यक्ष गुप्ताले जनाधार भएका नेतालाई पार्टीमा ल्याउन वर्षौंको मेहनत लाग्ने तर गलत व्यवहारका कारण उनीहरू एकै दिनमा पार्टी छोड्न बाध्य हुने अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन्। “यसरी पार्टी विस्तार हुँदैन, गम्भीर रूपमा सोच्न आवश्यक छ,” उनले लेखेका छन्।
उनले पार्टीमा नयाँ–पुराना भनेर विवाद नगर्न, पार्टीमा आउन चाहनेलाई अवरोध नगर्न र सबैलाई सम्मान दिनुपर्नेमा जोड दिएका छन्। मधेशको ठूलो पार्टी बन्ने लक्ष्य राखिएको अवस्थामा बाहिरबाट नेता–जनता ल्याउने होइन, यही क्षेत्रका विभिन्न दलमा आबद्ध रहेका जनाधार भएका नेता तथा जनतालाई समेट्नुपर्ने उनको भनाइ छ।
उपाध्यक्ष गुप्ताले पार्टीभित्र हक–अधिकारको दाबी गर्नु स्वाभाविक भए पनि त्यस क्रममा अरूको अवमूल्यन, अपमान वा योगदान बिर्सनु गलत हुने बताए। अन्य पार्टीबाट आएका भए पनि लामो समय संगठन निर्माण गरेका र उल्लेख्य मत ल्याएका नेताको अनुभव र जनसमर्थनको कदर हुनुपर्ने उनको जोड छ।
“पार्टी चापलुसीले होइन, जनभावना र संगठन बलियो बनाएर मात्र सशक्त हुन्छ,” उनले उल्लेख गरेका छन्। साथै, टिकट वितरणका लागि पार्टीले बनाएको मापदण्डको सम्मान हुनुपर्ने भन्दै विजय हासिल गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
उपाध्यक्ष गुप्ताले केवल पुरानो भएको आधारमा टिकटको दाबी गर्नु उपयुक्त नहुने उल्लेख गर्दै पार्टी विस्तार र जितको साझा सोचका साथ अघि बढ्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टी जिते सबै जित्ने भन्दै उनले संगठनको मन जितेर जनप्रतिनिधित्व गर्नु नै असल राजनीतिक चरित्र भएको निष्कर्ष निकालेका छन्।