पर्सा । पर्साको पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा आज सम्पन्न भएको छ। पोखरिया नगरपालिकाको सभा हलमा आयोजित नगरसभाको उद्घाटन नगरप्रमुख प्रधुमन चौहानले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा बोल्दै उहाँले पोखरिया नगरपालिकाको समग्र विकासका लागि आफू निरन्तर लागिपरेको बताउनुभयो। नगरपालिकाभित्र मालपोत कार्यालय, नापी शाखा तथा प्रादेशिक अस्पताल ल्याउन सफल भएको उल्लेख गर्दै यसले नगरवासीलाई ठूलो राहत पुगेको बताउनुभयो। साथै इलाका प्रशासन कार्यालय स्थापना कार्यक्रमको काम पूरा भइसकेको र केही दिनमै औपचारिक रूपमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो।
शिक्षा क्षेत्रमा गरिएको पहलअन्तर्गत नेरा मावि महोबनी विद्यालय भवन निर्माणका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको र रामदेव माविको पुरानो भवनलाई नयाँ भवन निर्माणका लागि व्यवस्थापन गरिएको नगरप्रमुख चौहानले बताउनुभयो। त्यसैगरी नगर विकास समितिको सहयोगमा बजार क्षेत्रमा खटाल निर्माण, साथै नगरपालिकाभित्र उद्योग व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू अघि बढाइएको जानकारी दिँदै ती सबै योजनाहरू हिउँदे नगरसभाबाट पारित गरिएको जनाउनुभयो।
नगरपालिकाको योजनाअन्तर्गत निर्माणसहितका विकास कार्यहरू आफूले सकेसम्म कुनै पनि बाँकी नराखेको दाबी गर्दै उहाँले राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर अघि बढेकै कारण विकास निर्माणका काम तीव्र गतिमा अघि बढेको बताउनुभयो। यद्यपि यस वर्ष बजेट अभावका कारण केही विकास कार्यमा ढिलाइ भएको स्वीकार गर्दै बजेटभन्दा बढी योजना स्वीकृत भएकाले समस्या देखिएको उहाँको भनाइ थियो। बाँकी रहेका विकास निर्माणका काम माघ महिनादेखि सुरु हुने उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा उपनगर प्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले आफू भर्खरै जिम्मेवारीमा आएको बताउँदै आफ्नो हस्ताक्षरबाट हुने कामलाई प्राथमिकतामा राखी जनताको सेवा छिटोछरितो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बजेट व्यवस्थापनमा समयमै ध्यान नपुगेका कारण संघीय सरकारबाट आउने बजेटभन्दा बढी योजना बनेको उल्लेख गर्दै आगामी दिनमा बजेट संशोधन गरी विकास कार्यलाई अघि बढाइने जानकारी दिनुभयो।
विशेष नगरसभा कार्यक्रममा वडा अध्यक्षहरू लक्ष्मण साह कानु, नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, शियानन्द चौहान, प्रमनन्द पटेल, किसोरी साह, कार्यपालिका सदस्यहरू रामबचन महतो, अजय साहलगायतले नगरसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य, नगरपालिका सदस्य, कर्मचारी, लेखापाल मन्दिप महतो, योजना शाखा प्रमुख सञ्जय पाण्डे, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरविन्द दुबेदी, सन्दिप साह, भगवान साह, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सह–संयोजक शिवसिंह पटेलले गर्नुभएको थियो।