काठमाडौं । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी टोलीले गत साता काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट हजारका ९३ वटा नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको थियो ।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा बाराको कलैया उपमहानगरपालिका–२, कबलपुरका २८ वर्षीय गौरीशंकर यादव पनि संलग्न रहेको देखिएको थियो ।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा गौरीशंकरलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले नक्कली मेसिन राखेर नोट छाप्ने गरेको बताएका थिए ।
गौरीशंकरले बाराको फेटा गाउँपालिका–३ मा भारतको मोतिहारी लाला टोलको पतौनास्थितमा डेरा गरी बस्ने वर्ष २८ वर्षीय रविकुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको बताएका थिए ।
त्यस्तै, नक्कली नोट नेपालमै छाप्नका लागि आवश्यक सामाग्री भारतबाट ल्याउन लागेको बताएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले दिएको सूचनाका आधारमा प्रहरी टोलीले आइतबार भारतबाट बीआर ०५ एएफ २५११ नम्बरको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन ल्याउदै गएको अवस्थामा पक्राउ श्रीवास्तवलाई पक्राउ गरेको भट्टराईले बताए । नक्कली नोट छाप्ने मेसिनसँगै कम्प्युटर, प्रिन्टिङ मेसिनलगायतका सामग्री बरामद गरेकोे छ ।
यससँगै उनीहरूबाट ५ वटा गड्डीमा भारतीय रुपैयाँ ५ सय दरका ३१७ वटा नोट पनि बरामद गरेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।