पर्सा । बारा र पर्सा जिल्लामा लामो समयदेखि कार्यरत एक असइसहित चार जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले तानेको छ। सादा पोसाकमा आर्थिक असुली गरेको भन्ने उजुरी परेपछि छानबिन प्रयोजनका लागि प्रहरी प्रधान कार्यालयले पुस २० गते पत्राचार गरी उनीहरूलाई झिकाएको हो।
प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी, प्रहरी हवल्दार नीरज सिंह तथा प्रहरी सहायक हवल्दार फिरोज मियाँलाई प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
यसैगरी, प्रदेश प्रहरी कार्यालय वीरगन्जमा कार्यरत प्रहरी हवल्दार नीरजकुमार यादव र वरिष्ठ प्रहरी हवल्दार राजमंगल सिंहलाई पनि प्रहरी प्रधान कार्यालयमा बोलाइएको स्रोतले जनाएको छ। साथै, जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी सहायक हवल्दार मोहम्मद सदाम हुसेनलाई समेत प्रधान कार्यालय तानिएको बताइएको छ।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले पुस २० गते जारी गरेको पत्रअनुसार ती सबै प्रहरी कर्मचारीलाई पुस २१ गते आवश्यक सरसामग्रीसहित उपस्थित हुन आदेश दिएको स्रोतको भनाइ छ। एउटै जिल्लामा लामो समयदेखि कार्यरत रहँदै आर्थिक कारोबारमा संलग्न भएको आरोपसहित उनीहरूविरुद्ध अत्यधिक उजुरी तथा गुनासो परेपछि प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ।
प्रहरी उपरीक्षक रविनराज मैनालीद्वारा जारी चलानी नम्बर २३८४ को पत्रमा ‘उल्लेखित विषयमा आवश्यक बुझाइ गर्नुपर्ने भएकाले तोकिएको मितिमा उपस्थित हुन’ निर्देशन दिइएको उल्लेख छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले प्रधान कार्यालयबाट आएको पत्रअनुसार सम्बन्धित प्रहरीहरू उपस्थित भइसकेको जानकारी दिएका छन्। कुन जिल्लाबाट कति र कुन दर्जाका प्रहरी तानिएका हुन् भन्ने विस्तृत विवरण आफूलाई प्राप्त नभए पनि सबै प्रहरी कर्मचारी प्रधान कार्यालय पुगिसकेको उनले बताए।