वीरगञ्ज । पर्सा जिल्लामा जारी कर्फ्यू आदेशको समय थप गरिएको छ। यसअघि दिउँसो १ बजेसम्म लागू गरिएको कर्फ्यू आदेशलाई जिल्ला प्रशासन कार्यालय पर्साले बेलुका ६ बजेसम्म निरन्तरता दिएको हो।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार सुरक्षा संवेदनशीलता कायमै रहेकाले सम्भावित अशान्ति, अवाञ्छित गतिविधि तथा सार्वजनिक शान्ति सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यूको समय थप गरिएको जनाइएको छ।
जारी कर्फ्यू आदेशअनुसार वीरगञ्ज महानगरपालिकाभित्रका संवेदनशील क्षेत्रहरूमा आवतजावत, भेला, सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि किसिमका गतिविधि निषेध गरिएको छ। कर्फ्यू लागू हुने क्षेत्रहरू पूर्वतर्फ बकुला चौक, जगन्नाथ इन्भर्स, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गणेश चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म तोकिएको छ।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सबै पक्षको सहयोगको अपेक्षा गरेको छ।