वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंहले शहरमा बारम्बार उत्पन्न हुने धार्मिक विवाद र अशान्तिप्रति सुरक्षा प्रशासनलाई कठोर प्रश्न उठाएका छन्। मेयर सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको स्टाटसमा लिखित रूपमा बताएका छन् कि शहरलाई अशान्त, भयभीत र आक्रान्त बनाउने केही व्यक्तिहरूलाई प्रहरीले किन अझै कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन भन्ने स्पष्ट पार्न आवश्यक छ।
मेयर सिंहले प्रश्न उठाउँदै भनेका छन्, "धार्मिक द्वन्द्व चर्किएपछि मात्रै सद्भावका र्याली र औपचारिक बैठक गरेर आत्मसन्तुष्टि लिने प्रवृत्ति कहिलेसम्म चलिरहने?"
उनका अनुसार, वीरगन्ज बाहिर उत्पन्न भएका विवादलाई जबर्जस्ती शहरमा थोपरेर धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने केही सीमित व्यक्तिहरूलाई प्रशासनले अझै कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन। यस प्रकारका क्रियाकलापहरूले सदियौँ जोगिँदै आएको शहरको भाईचारा, सहअस्तित्व र सद्भावलाई धक्का पुर्याइरहेको मेयर सिंहको आरोप छ।
मेयर सिंहले स्पष्ट प्रश्न उठाएका छन्, "शान्ति–सुरक्षा कायम गर्नु पूर्णतः राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी हो। तर जब–जब बाहिरबाट आयातित विषयका कारण धार्मिक तनाव चर्किन्छ, सम्बन्धित निकाय आफ्नो जिम्मेवारीबाट किन पञ्छिने प्रयास गर्छ?"
उनले थपे, "आफ्नो स्वार्थ पूरा गर्न पूरै शहरलाई अशान्त, भयभीत र आक्रान्त बनाउनेहरूलाई पक्राउ गरी कडा कारबाही गर्नु प्रशासनको प्राथमिकता हुनुपर्छ। वीरगन्ज कुनै व्यक्तिको वा समूहको बन्धक होइन, यो शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर हो।"
मेयर सिंहले आफ्नो स्पष्ट मान्यता व्यक्त गर्दै भनेका छन्, "धर्मसँग जोडिएको भावना कसैले खेल्न पाउँदैन। जो भावना भड्काएर समाज बिथोल्न खोज्छ उसलाई कुनै हालतमा छुट दिन मिल्दैन।"
उनले सबै नागरिकलाई आपसी सद्भाव, भाईचारा र सहअस्तित्वमा एकजुट भएर अघि बढ्न आह्वान गर्दै, “वैभव वीरगन्ज” निर्माणतर्फ जोड दिएका छन्। मेयर सिंहको यो चेतावनीले प्रशासनलाई सक्रिय भएर कानुनी कारबाही र सुरक्षा व्यवस्थामा प्रभावकारी कदम चाल्न दबाब दिने अपेक्षा गरिएको छ।