वीरगञ्ज । धनुषाको मस्जिद तोडफोड घटनापछि उत्पन्न धार्मिक तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा हिन्दु र मुस्लिम समुदायका अगुवाबीच छुट्टाछुट्टै छलफल सुरु भएको छ। प्रशासनले दुवै समुदायका धारणा सुनेर शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदम चालिने जनाएको छ।
छलफलका क्रममा हिन्दु समुदायका प्रतिनिधिहरूले विदेशमा रहेर सामाजिक सञ्जालमार्फत हिन्दु धर्मविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा नदिम अन्सारीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले यस्ता गतिविधिले धार्मिक सद्भावमा गम्भीर असर पुर्याएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका हुन्। बैठकमा धार्मिक सहिष्णुता कायम गर्ने र बढ्दो तनाव न्यूनीकरणका उपायहरूबारे पनि गहन छलफल भएको थियो।
यसअघि सम्पन्न सर्वपक्षीय बैठकले सामूहिक प्रेस विज्ञप्ति जारी गर्ने, सामाजिक सद्भाव कायम राख्ने तथा एक–अर्कामाथि आरोप–प्रत्यारोप नगर्ने सहमति गरेको छ। साथै, कुनै पनि प्रकारका कार्यक्रम आयोजना गर्न अनिवार्य रूपमा प्रशासनको अनुमति लिनुपर्ने र अनुमति बिना कार्यक्रम गरे कडा कारबाही गरिने निर्णय गरिएको छ।
बैठकले बङ्गलादेशमा घटेका घटनाका नाममा पर्सा जिल्लामा प्रदर्शन गर्न नपाइने, मदरसाहरूको प्रशासनिक अनुगमन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय पनि गरेको छ। प्रशासनले समुदायस्तरीय छलफल र सहमतिका निष्कर्षपछि कर्फ्यु सम्बन्धी थप निर्णय सार्वजनिक गरिने जनाएको छ।
यसैबीच, वीरगञ्जको अवस्था पूर्ण रूपमा सामान्य नभएकाले कर्फ्युको अवधि साँझ ६ बजेसम्म थप गरिएको छ। संवेदनशील क्षेत्रहरूमा सुरक्षा निकायको बाक्लो उपस्थिति कायम गरिएको प्रशासनले जनाएको छ।
धार्मिक तनाव धनुषाको कमला नगरपालिका–६, सखुवा मदनमा गत शनिबार मस्जिद तोडफोड तथा धार्मिक ग्रन्थ जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्किएको हो। टिकटकमार्फत हिन्दु धर्मप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा दुई मुस्लिम युवामाथि कारबाही माग्दै सुरु भएको प्रदर्शनपछि स्थिति थप तनावग्रस्त बनेको बताइएको छ। सोमबार प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।
प्रशासनले दुवै समुदायलाई संयम अपनाउन, अफवाह नफैलाउन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। सर्वसाधारणलाई धैर्य गर्न अपिल गर्दै स्थिति छिट्टै सामान्य बनाउने प्रयास जारी रहेको जनाएको छ।