रौतहट । मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा १ लाख १६ हजार ७०८ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर ९५ हजार १३० मेट्रिक टनमा खुम्चिएको छ । उत्पादनसँगै धान खेती गरिएको क्षेत्रफल र उत्पादकत्व (प्रतिहेक्टर उत्पादन) दुवैमा उल्लेख्य गिरावट आएको तथ्याङ्कले देखाएको छ ।
मौसमको प्रतिकूलता
धान उत्पादन घट्नुमा यस वर्ष मौसमको चरम प्रतिकूलतालाई मुख्य कारण मानिएको छ । सूचना अधिकारी मण्डलले भने, ‘सुरुमा रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा नहुँदा धेरै जमिन बाँझै रह्यो । तर, रोपाइँ सकिए लगत्तै भएको भारी वर्षाले झन् ठूलो समस्या निम्त्यायो ।’
तथ्याङ्क अनुसार गत वर्ष ३५ हजार ८ हेक्टरमा धान खेती गरिएकोमा यस वर्ष करिब ४ हजार ३ सय हेक्टर कम अर्थात् ३१ हजार ५०० हेक्टरमा मात्र रोपाइँ भएको थियो । उत्पादकत्व पनि गत वर्षको प्रतिहेक्टर ३.२६ मेट्रिक टनबाट घटेर यस वर्ष ३.०२ मेट्रिक टनमा सीमित भएको छ ।
बढ्दो प्लटिङ र सिँचाइ अभावको असर
जिल्लामा धान उत्पादन घट्नुका पछाडि प्राकृतिक कारणबाहेक मानवसिर्जित समस्याहरू पनि देखिएका छन् । खेतीयोग्य जमिनको तीव्र प्लटिङ, सिँचाइको भरपर्दो व्यवस्था नहुनु र जलवायु परिवर्तनका कारण हुने अनियन्त्रित वर्षाले रौतहटको कृषि क्षेत्रमा नकारात्मक असर पारेको छ ।
मुख्य बाली धानकै उत्पादनमा ठूलो ह्रास आएपछि जिल्लाको कृषि अर्थतन्त्रमा असर पर्ने देखिएको छ । यसले आगामी वर्ष खाद्य सुरक्षामा समेत गम्भीर प्रभाव पार्न सक्ने भन्दै स्थानीय किसानहरू चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले क्षेत्रफल घट्नु र मौसमको प्रतिकूलता नै समग्र उत्पादन गिरावटको मुख्य कारण भएको निष्कर्ष निकालेको छ ।