पर्सा । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले पुस १४ गते जिल्ला प्रहरी कार्यालय पर्साविरुद्ध मेयर राजेशमान सिंहसम्बन्धी किर्ते नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि नयाँ विवाद उत्पन्न भएको छ।
अदालतको स्पष्ट आदेश आएको केही दिनमै मेयर सिंहले बुधबार पुस २३ गते प्रहरी प्रधान कार्यालय पुगेर नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग भेटघाट गरेको विषयले गम्भीर प्रश्न खडा गरेको छ।
अदालतको परमादेश कार्यान्वयनको चरणमै रहेको संवेदनशील मुद्दामा प्रतिवादीको हैसियतमा रहेका व्यक्तिले प्रहरीको सर्वोच्च नेतृत्वसँग प्रत्यक्ष भेटघाट गर्नु स्वाभाविक नभएको कानुनी जानकारहरूको टिप्पणी छ। उनीहरूले यसलाई अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने प्रयासको रूपमा लिन सकिने बताएका छन्।
मेयर सिंहमाथि अर्काकी छोरीलाई आफ्नी भन्दै जन्मदर्ता, सिफारिस लगायतका सरकारी कागजात किर्ते गरी नागरिकता बनाएको आरोप छ। उक्त आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० साल फागुनमै जाहेरी दर्ता भएको भए पनि दुई वर्ष नपुग्दै चार जना प्रहरी उपरीक्षक फेरिँदा पनि अनुसन्धान टुंगोमा पुग्न सकेको छैन। यसले सुरुदेखि नै प्रहरी प्रशासन मेयरलाई जोगाउने भूमिकामा रहेको रिटकर्ताको आरोपलाई थप बल दिएको छ।
उच्च अदालतले यसअघि पनि पटक–पटक अनुसन्धानको प्रगति विवरण माग्दै आदेश दिएको थियो। तर प्रहरीबाट अदालतमा पेश गरिएका जवाफहरूमा केवल प्रारम्भिक विवरण मात्र समेटिएको र पछिल्लो एक वर्षमा ठोस अनुसन्धान नभएको भन्दै अदालत असन्तुष्ट बनेको थियो।
त्यसै कारण पुस १४ गते परमादेश जारी गर्दै अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिइएको हो। यस्तो अवस्थामा अदालतको आदेशपछि मेयर सिंह स्वयं प्रहरी महानिरीक्षकसँग भेटघाट गर्दै त्यसको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुले न्यायिक प्रक्रियामाथि हस्तक्षेप गर्न खोजिएको संकेत दिएको आरोप लागिरहेको छ।
अदालतको आदेशलाई सम्मान गर्नुपर्ने समयमा देखाइएको यस्तो व्यवहारले कानुनी शासनको उपहास भएको टिप्पणी समेत उठ्न थालेको छ।
स्थानीय तहदेखि संसदसम्म मेयर सिंहविरुद्ध आवाज उठे पनि अहिलेसम्म ठोस कारबाही नहुनुले राज्यका निकायहरू शक्तिशाली व्यक्तिको प्रभावमा परेको हुन् कि भन्ने शंका अझ गहिरिँदै गएको छ। अदालतको परमादेशपछि समेत अनुसन्धान प्रभावित पार्ने प्रयास भएको हो भने यसले केवल एक व्यक्तिको विषय नभई सम्पूर्ण न्याय प्रणालीको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाउने देखिएको छ।