वीरगन्ज । नेकपा (माओवादी केन्द्र) का नेता तथा मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै लिखित राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा अन्सारीले माओवादी केन्द्रले आफ्नो मूल वैचारिक आधार गुमाउँदै गएको गम्भीर आरोप लगाएका छन्। उनले साहस, इमान र जोखिम लिन सक्ने क्षमता पार्टीले त्यागिसकेको उल्लेख गर्दै आफू अब यस्तो विरोधाभासपूर्ण अवस्थाको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन्।
पत्रमा अन्सारीले लेखेका छन्,
“यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ। साहस, इमान र जोखिम—तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ भन्ने बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।”
उनले प्रचण्डले हालै एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ उद्धृत गर्दै क्रान्तिका आदर्श व्यवहारमा उतारिन नसकेको टिप्पणी गरेका छन्। साथै, १० वर्षे जनयुद्धमा बलिदान दिएका शहीद, बेपत्ता तथा पीडित जनताको सपना सत्ता, पद र सुविधामुखी राजनीतिमा सीमित भएको आरोप पनि पत्रमा उल्लेख छ।
अन्सारीले शहीदहरूको नाम भाषणमा उच्चारण भए पनि उनीहरूको आदर्श व्यवहारमा नउत्रिएको भन्दै पार्टी नेतृत्वमाथि नैतिक प्रश्न उठाएका छन्।
पर्सा निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सांसद अन्सारीको राजीनामालाई माओवादी केन्द्रभित्र बढ्दो असन्तुष्टि र वैचारिक संकटको संकेतका रूपमा हेरिएको छ। उनकाे पार्टी परित्यागले मधेस प्रदेशको राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको छ।
