पर्सा । नेकपा एमालेले पर्सा जिल्लाका निर्वाचन क्षेत्र नम्बर २ र ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पर्सा–२ र ३ का क्षेत्रीय कमिटीहरूले पार्टीभित्रको व्यापक छलफल र सहमतिपछि गुप्ताको नाम सिफारिस गरेका थिए। ती सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीमा पठाएको थियो। त्यसपछि प्रदेश कमिटीले पनि उनलाई उपयुक्त उम्मेदवार ठहर गर्दै केन्द्रीय कमिटीमा सिफारिस गरेको हो।
पूर्व मन्त्री गुप्ता पार्टी संगठन निर्माण, प्रशासनिक अनुभव र विकासका मुद्दामा स्पष्ट दृष्टिकोण राख्ने नेताका रूपमा चिनिँदै आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा रहँदा उनले स्थानीय तह सुदृढीकरण, प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ उल्लेखनीय भूमिका खेलेको पार्टी नेताहरूको भनाइ छ।


उनको नाम दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुले पर्सामा पार्टीभित्र उनको लोकप्रियता, कार्यक्षमता र भरोसालाई स्पष्ट रूपमा देखाएको छ। एमाले नेताहरूले राजकुमार गुप्ता पर्सामा पार्टीलाई थप सशक्त बनाउने र निर्वाचनमा मजबुत उम्मेदवार बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।