काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ । मन्त्री गुप्ता सहभागी हुने भनिएको कार्यक्रमको मिति, तालिका र औपचारिक विवरण नै तय नभएको अवस्थामा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराइनु पदीय दुरुपयोग भएको आरोप लाग्न थालेको छ ।
मन्त्री गुप्ता विवादित गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका पक्षको निम्तोमा अमेरिका जान लागेको बताइँदै आएको छ । तर, कार्यक्रम आयोजना गर्ने भनिएको पक्षले नै हालसम्म कार्यक्रमको निश्चित मिति र सेड्युल तय नभएको स्वीकार गरेको छ । एनआरएनए अमेरिका (विकास उप्रेती नेतृत्व) का प्रवक्ता द्रोण गौतमले जारी गरेको विज्ञप्तिमा टेक्सासको डालसमा कार्यक्रम गर्ने भनिए पनि विस्तृत विवरण पछि सार्वजनिक गरिने उल्लेख छ ।
विज्ञप्तिमा मन्त्रीको सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहोर्ने दाबी गरिएको छ । यसबाट राज्यलाई आर्थिक भार नपर्ने भनिए पनि कार्यक्रम कहिले हुने भन्ने विषय स्पष्ट पारिएको छैन । यता मन्त्री गुप्ताले भने ‘३ माघमा हुने कार्यक्रम’ का लागि भन्दै मन्त्रिपरिषद्बाट सोमबार भ्रमण स्वीकृति लिएको देखिन्छ ।
नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास वा अमेरिकी सरकारी निकायको कुनै पनि अभिलेखमा उक्त कार्यक्रमसम्बन्धी विवरण नपाइएपछि विवाद थप चर्किएको छ । आलोचकहरूले विवाद बढेपछि मन्त्रीले आयोजकमार्फत विज्ञप्ति जारी गराएर कमजोरी ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।
एनआरएनए अमेरिका हाल दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व अर्जुन बञ्जाडेले गरिरहेका छन् भने अर्को समूह विकास उप्रेतीको नेतृत्वमा छ ।
मन्त्री गुप्ता सहभागी हुने भनिएको कार्यक्रम उप्रेती नेतृत्वको समूहसँग सम्बन्धित बताइएको छ । सो समूहका पदाधिकारीहरूका अनुसार मन्त्रीको समयअनुसार कार्यक्रम तय गर्ने सहमति भए पनि अहिलेसम्म मिति निश्चित गरिएको छैन ।
यसैबीच, सरकारको सदाचार नीतिविपरीत भ्रमण स्वीकृत गराइएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । मन्त्रिपरिषद्ले गत ५ असोजमा सार्वजनिक गरेको सदाचार नीतिमा अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्ने स्पष्ट उल्लेख छ । कार्यक्रमको अस्तित्व नै विवादमा रहेको अवस्थामा यो भ्रमण कसरी ‘अत्यावश्यक’ ठहरियो भन्ने प्रश्न उठाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले समेत यस विषयमा ध्यानाकर्षण भएको बताएकी छन् । उता अध्यागमन विभागले पनि सम्भावित कार्यक्रममा मन्त्री बाहेक अन्य व्यक्ति सहभागी हुन सक्ने आशंकामा गृह मन्त्रालयसम्म चासो व्यक्त गरेको छ । अध्यागमनका एक उच्च अधिकारीका अनुसार गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत यस विषयमा जानकारी गराइएको छ ।
कार्यक्रम नत मिति तय, न त आधिकारिक निम्तो स्पष्ट—यस्तो अवस्थामा मन्त्रीको अमेरिका भ्रमण स्वीकृति कानुनी र नैतिक दुवै हिसाबले गलत भएको निष्कर्षमा धेरैजसो सरोकारवाला पुगेका छन् ।