जनकपुरधाम । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिन लोसपा अध्यक्ष महन्थ ठाकुर आफ्ना पार्टी नेताकार्यकर्ताको सहारामा बुधबार दिउँसो करिब २: ३० बजेतिर जनकपुरको निर्वाचन कार्यालय पुगे ।
८३ वर्षीय ठाकुर निर्वाचन कार्यालय पुग्दा दुईजना कार्यकर्ताले दुवै हात कसेर समात्दै ल्याएका थिए । वृद्ध अवस्थाका उनलाई हिँड्नका लागि कार्यकर्ताले सहायता गरिरहेका थिए । केहीबेर कार्यालयमा बसे । कार्यकर्ताहरुले मनोनयनपत्र तयार गरे । सहीछाप गरेर उनले मनोनयन दर्ता गराए ।
पुनः त्यसै गरी कार्यकर्ताकै सहारामा उनी त्यहाँबाट निस्किए । कार्यालय अगाडि उपस्थित सञ्चारकर्मीले उम्मेदवारीको विषयमा जिज्ञासा राखे । तर बिना सहारा उभिने अवस्थामा समेत नभएका ठाकुर बोलेनन् । सञ्चारकर्मीको आग्रहमा उनको तर्फबाट लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारी नै बोले ।
‘कांग्रेस, एमाले, जसपा र लोसपाबीच राष्ट्रिय सभा निर्वाचनको लागि सहमति भएको थियो । त्यसमा अन्य तर्फ लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनु भयो’ भण्डारीले भने ।
जबकी उनै ठाकुर गत २०७९ को प्रतिनिधि सभाबाट दोस्रो पटक महोत्तरी क्षेत्र नं. ३ मा चुनाव लड्दा अन्तिम पटक जनतासँग मत मागेका थिए । मत माग्न जाँदा उनी भन्थे, ‘यो मेरो अन्तिम चुनाव हो, यसपछि म चुनाव लड्ने छैन ।’
तर, जेनजी आन्दोलनको क्रममा संसद् विघटनसँगै आगामी फागुन २१ मा पुनः चुनाव घोषणा भएको छ । अगामी माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ । आफैं उठबस समेत गर्न अप्ठेरो अवस्थामा उनी पुनः राष्ट्रिय सभा सदस्य चुनावको लागि उम्मेदवार बनेका छन् ।
उनी आफ्नै दल लोसपासहित नेकपा एमाले, नेपाली कांग्रेस र जसपाका नेपालका साझा उम्मेदवार हुन् । यसले राजनीति उथलपुथल नभए करिब उनी राष्ट्रिय सभामा सुरक्षित हुने छन् ।
ठाकुर राजनीति जीवनमा धेरै संघर्ष गर्दै उतार चढाव झेलेका नेता हुन् । त्यसले उनको व्यक्तित्वको प्रशंसा पनि हुन्छ । कतिपयले आदर्शवादी नेता मान्छन् । तर यो अवस्थामा पनि राष्ट्रिय सभा सदस्यको लागि दिएको उम्मेदवारीले कतिपयले उनलाई पदलोभी नेता भनेर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेको छ ।
उमेर र शरीरले साथ नदिएपनि अध्यक्ष ठाकुरको लामो मजबुत वैचारिक अनुभव आज देश र मधेशलाई आवश्यक परेकोले उनको उम्मेदवारी परेको लोसपा मधेश प्रदेश अध्यक्षसमेत रहेको पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको तर्क छ ।
‘ शरीरले वृद्ध भएपनि वैचारिक रुपमा मजबुत हुनुहुन्छ । उहाँको लामो राजनीतिक अनुभव छ । वैचारिक रुपमा मजबुत नै हुनुहुन्छ । उहाँको विचार अहिले देश र मधेशलाई आवश्यक छ । परिस्थितिको माग पनि हो’ नेता सोनल भन्छन् ।
कुनै पनि अग्रजले लामो समय दिएको योगदानको कदर गर्नु र सम्मान गर्नु पनि दायित्व रहेको उनको भनाइ छ ।
‘पार्टीमा कोही अग्रज बुज्रुक भए उहाँको अनुभव र सम्मान पनि गर्नुपर्छ’ उनले भने ।
महोत्तरीको पिपरा गाउँपालिका एकरहिया घर भएका ठाकुरले २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधिसभामा चुनाव जितेका थिए ।
विद्यार्थी कालदेखि नेपाली कांग्रेस निकट विद्यार्थीमा लागेर राजनीति यात्रा अघि बढाएका ठाकुरले जेलनेल भोगे ।
२०३६ बहुदलीय व्यवस्था र २०४६ मा भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।
पहिलो पटक २०४८ सालमा कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जित्दै उनी संसदीय राजनीतिमा प्रवेश गरेका थिए । त्यस बेला उनी उपसभामुख बने । पुनः २०५१ को मध्यावधि निर्वाचनमा सर्लाहीबाटै चुनाव जितेपछि मन्त्री भएका थिए ।
नेपाली कांग्रेसका कोषाध्यक्ष र सरकारका कृषि, कानुन, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका ठाकुरले २०६४ सालमा पार्टी त्यागेर आफ्नै नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) खोले ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनाव लडे । तर मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन यादवसँग पराजित हुन पुगे । त्यस बेला मनोनीतमा उनलाई संविधानसभा सदस्य बनाइएको थियो ।
दोस्रो संविधानसभा २०७० को चुनावमा पनि उनी पराजित भए । उनलाई कांग्रेसका उम्मेदवार अमरेश सिंहले पराजित गरे । संविधान घोषणाको मुखमा भएको ६ महिने तेस्रो मधेश आन्दोलनमा उनले मधेशवादी दलहरुसँग गठबन्धन गरी संयुक्त मधेशी मोर्चा बनाएका थिए । आन्दोलनको मुभमेन्टले मधेशमा मधेशवादीप्रति सहानभूति बढ्यो ।
२०७४ को निर्वाचनको मुखमा महन्थ ठाकुरले ६ वटा दलसँग गठबन्धन गरी नयाँ पार्टी गठन गरे । तमलोपा, अनिल झाको संघीय सद्भावना पार्टी, शरत सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), राजेन्द्र महतोको सद्भावना पार्टी र महेन्द्र राय यादवको तराई मधेश सद्भावना पार्टी एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन भयो । यसमा चक्रीय प्रणालीबाट संयोजक तोकिन्थ्यो ।
२०७४ को निर्वाचनमा राजपा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी र राजपाले प्रतिनिधिसभा र प्रदेशसभामा राम्रो उपस्थिति देखायो । दुवै दलबीच २०७७ मा एकता भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल बन्यो । डेढ वर्षपछि २०७८ मै जसपाबाट दल विभाजन गरी ठाकुरले आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे ।
राजनीतिक यात्राको क्रममा पछिल्लो समय राष्ट्रिय राजनीतिको केन्द्रमा रहे । उपप्रधानमन्त्री बन्न कयौंपटक अवसर पाउने स्थिति बन्यो तर उनी अन्य नेतालाई पठाए । आफू बनेनन् ।
राष्ट्रपतिको लागि पनि ठाकुरको पटक पटक चर्चा भयो । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको बेला काँग्रेसले उनलाई प्रधानमन्त्रीको लागि समेत अफर गरेको थियो ।
जति बेला उनी ओलीसँग मिले । त्यस सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्री बने । तर सर्वोच्चको आदेशले कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।
यद्यपी उनीमाथि परिवारवादको आरोप समेत लाग्ने गरेको छ । आफ्नो सम्धिनीलाई संविधानसभा सदस्य बनाएको, सम्धीलाई भागबण्डामा प्रदेश प्रमुख बनाएको र गत चुनावमा समानुपातिकमा छोरोको नाम राखेकोमा आलोचना समेत खेप्नु परेको छ ।