काठमाण्डाै । नेपाली कांग्रेसका नेताहरूले पार्टी एकताबद्ध भएर चुनावमा जाने बताएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान विशेष महाधिवेशनको समयताका काठमाण्डाैमा भेला भएका संस्थापन पक्षधर नेताहरूले यस्तो दाबी गरेका हुन् । उनीहरूले चुनावको कार्यतालिका आइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए ।
कांग्रेस नेता शिव हुमागाईंले आमचुनावको समय आइसकेकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै बुद्धिमानी हुने बताउनुभयो । उहाँले पार्टीमा देखिएको आन्तरिक समस्यालाई समाधान गर्न आफूहरू लागिपरेको र शनिवारसम्म निकास निस्किने दाबी गर्नुभयो । उहाँले प्रक्रियागत रूपमा सबैसँग छलफल गरेर नयाँ रणनीतिका साथ कांग्रेस अघि बढ्ने बताउनुभयो ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाप्रति आफूहरूको कुनै भनाइ नरहेको तर महामन्त्री पदले सबैलाई विश्वासका साथ अघि बढ्ने भूमिका निर्वाह गर्नुपर्ने हुमागाईंले बताउनुभयो । नेपाली राजनीतिमा कुनै पनि निर्णय राति अन्तिम क्षणमा टुङ्गिने गरेको भन्दै चुनावकाे मुखमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन जरुरी रहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘चुनावकाे तालिका अघि बढिसकेको छ । यस्तो बेलामा नेपाली कांग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्ने भनेर हामी उपलब्ध मन मिल्नेले पार्टीलाई विभाजनको सङ्घारमा पुर्याउनु हुँदैन, एकताबद्ध बनाउनुपर्छ भनेर लागेका छौँ । सबैलाई एक ढिक्का बनाएर लैजाने नयाँ उपायबारे छलफल गर्दैछौँ । नेपाली कांग्रेस अहिलेको क्षणमा कुनै पनि हालतमा फुटको सङ्घारमा जाँदैन । एकताबद्ध भएर चुनाव सामना गर्दछ ।’
अर्का नेता मदनकृष्ण श्रेष्ठले विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरूले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गरेकाले त्यहीअनुसार निर्णय गरिएको बताउनुभयो । उहाँले चुनाव अगाडि महाधिवेशन गर्नसक्ने अवस्था नरहेको उल्लेख गर्नुभयाे । महाधिवेशन दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको उहाँले बताउनुभयो । कांग्रेस कुनै पनि हालतमा नफुट्ने र एकताबद्ध भएर जाने श्रेष्ठकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी नेपाली कांग्रेसको पक्षमा छौँ । विशेष र नियमित महाधिवेशनको पक्षमा बहस चलिरहेको छ । चुनावअघि महाधिवेशन सम्भव नरहेकाले चुनाव पछि गर्नुपर्छ भन्ने माग धेरै सदस्यहरूको छ ।’